
मंगलबार रातिदेखि देशका अधिकांश स्थानमा भदौरे झरी परिरहेको छ । गएराति सर्लाही, उदयपुर, सिन्धुपाल्चोक र बागलुङलगायत जिल्लामा ठूलो पानी परेको छ । यी क्षेत्र भई बहने नदी तथा खोला तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हाल मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
मंगलबारदेखि परिरहेको झरी आज साँझबाट भने केही सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार घाम देख्न पाइए पनि मौसम पूरै चाहिँ नखुल्ने महाशाखाको अनुमान छ ।