
सामसङले नेपालमा पनि ग्यालेक्सी ‘ए’ सिरिजका फोनमा 'सर्कल टू सर्च' सुविधा उपलब्ध गराएको छ । ग्यालेक्सी इकोसिस्टमका थप डिभाइसमा मोबाइल एआईको पहुँच विस्तार गर्ने उद्देश्यले ग्यालेक्सी ए५५ र ए३५ फाइभजी स्मार्टफोनमा यस्तो फिचर उपलब्ध गराएको हो ।
कम्पनीले ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा ‘सर्कल टु सर्च’ फिचर थप भएको जनाएको छ । थप भएको नयाँ फिचरले ग्यालेक्सी ‘ए’ र ट्याब एस९ एफई सिरिज प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने कम्पनीको विश्वास छ ।
ग्यालेक्सी एस२४ सिरिज शुरू भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।
पछिल्लो ग्यालेक्सी जेड फ्लिप६ र जेड बोल्ड६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्नेसहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।
ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका अन्य प्रोडक्टहरूमा पनि सर्कल टु सर्चबाट प्रयोगकर्ताहरूले थप जटिल प्रश्नहरूको उत्तर खोजी गर्न सक्ने कम्पनीले जनाएको छ ।
सामसङ इलेक्ट्रोनिक्सका प्रमुख टीएम रोहले नयाँ अपडेटले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा नयाँ सम्भावनाहरू उजागर गरेको र अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पारेको बताए ।
धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास एआई प्रविधि ल्याउन कम्पनी समर्पित रहेको भन्दै उनले प्रयोगकर्तालाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्न उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पका साथ सशक्त बनाउने बताए ।