०७ असार २०८३, आइतबार

भारत बस दुर्घटना : बारागढीका ४५ तीर्थयात्री घाइते, ३ जनाको अवस्था गम्भीर

भदौ ९, २०८१
बारा
भारत बस दुर्घटना : बारागढीका ४५ तीर्थयात्री घाइते, ३ जनाको अवस्था गम्भीर
फाइल फोटो

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ ।

भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । 

उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् ।

ना ७ ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए । 

'बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका  रहेको जानकारी पाइएको छ,' प्रहरी नायब उपरीक्षक सापकोटाले भने । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको उनले बताए । 

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो ।

त्यसअघि उनीहरूले गाउँमा सामूहिक पूजा पाठसमेत गरेका बताइएको छ ।

सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्