
राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ति गरेको छ ।
परिषद्ले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योञ्जनलाई नियुक्त गरेको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योञ्जन हाल सिरहा जिल्ला खेलकुद विकास समितिमा नायब वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत थिए ।
यस अघि नवीन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यस्तै, २०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका भट्ट १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रज्वलमान सिंहले उमेरहदका कारण अवकाश पाएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुवै जनालाई मुख्य प्रशिक्षकमा नियुक्ति दिएका हुन् ।
नियुक्ति पत्र दिँदै घिसिङले सम्बन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरेका थिए ।