
बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले नेपालमा बायो इथानोल उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा बायो इथानोल खरिद सम्झौता गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कूल गार्हस्थ्य उत्पादन बढाउन सकिने भन्दै यस्तो निर्देशन दिएको हो ।
समिति सभापति अब्दुल खानले स्वदेशी उत्पादकलाई आह्वान गरी बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन निर्देशन दिने निर्णय भएको जनाए ।
खनिज इन्धनमा रहेको निर्भरतालाई घटाउने तथा यसको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विसं २०६० मङ्सिर महिना २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, २०८१’ तयार पारेको छ ।
विनियमावलीले इथानोल भन्नाले उखु, न्यापिर घाँस, सिमल तरुल, सजिवनजस्ता कार्बोहाइडे«टयुक्त जैविक प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चापदार्थलाई कुहाएर अल्कोहलमा परिणत गरी पेट्रोलियम पदार्थमा मिश्रण गर्न सकिने वा बायोइथानोल सम्झनुपर्छ भनेको छ ।