०१ साउन २०८३, शुक्रबार
सरकारी अस्पतालको बेथिति

प्रतिस्पर्धा छलेर कोशी अस्पतालमा सुटुक्क नौ चिकित्सक नियुक्त

भदौ १०, २०८१
काठमाडौं
प्रतिस्पर्धा छलेर कोशी अस्पतालमा सुटुक्क नौ चिकित्सक नियुक्त

विराटनगरस्थित कोशी अस्पतालले प्रतिस्पर्धाबिनै सुटुक्क नौ जना चिकित्सक नियुक्ति गरेको छ । खुला प्रतिस्पर्धामार्फत् चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफूखुसी ९ जना चिकित्सक नियुक्ति गरेको हो ।

भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा. फर.वड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको हो । नियुक्त हुनेमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. ज्योति कार्की, मनोचिकित्सक डा. सविता खड्का, पेटरोग विशेषज्ञ डा. रोहित यादव, एनएस्थेसियाहरू डा. प्रवीन झा र डा. राजन राई छन् । 

यसैगरी मेडिकल अफिसरमा डेन्टल विभागमा कार्यरत रहनेगरी डा. निमिशा दास, आकस्मिक कक्षको लागि डा. मनोज मनिष साह र आईसीयूको लागि डा. विशका गुरुङलाई नियुक्ति गरिएको हो । उनीहरूलाई शुरूमा समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ ।

अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करार नवौं तहमा कार्यरत चिकित्सकलाई एक तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ । डा. रौनक, डा. ज्योति र डा. रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा अर्को स्थायी चिकित्सक आउँदा जागिर जाने भएपछि उनीहरूलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरेको हो । 

यसअघि अस्पताल विकास समितिका अध्यक्ष डा. फर.वड सिलवाल र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रलाल झाको पालामा पनि तीन जना मेडिकल अफिसर नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएको थियो । त्यसबेला पनि निकटलाई नियुक्त गर्ने प्रयास भएको थियो । विरोध भएपछि अस्पतालले विज्ञापन नै स्थगित गरेको थियो । 

त्यसबेला विज्ञापन आह्वानगरी अन्तर्वार्तासम्म लिने तयारी गरिएको थियो । तर, अहिले ९ जना चिकित्सक नियुक्त गर्दा ठाडो नियुक्ति दिइएको हो । विज्ञापन आह्वान नगरी सुटुक्क नियुक्त गरिनुले आशंका उब्जिएको अस्पतालका एक चिकित्सकले बताए । ‘यो ठूलो बदमासी हो । कुन नियतले यसरी नियुक्ति गरियो भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भने, ‘यसमा कुनै लेनदेन भएको छ कि भन्ने विषयमा छानबिन हुनुपर्दछ ।’

मेसु डा. सिंहले भने अस्पतालमै कार्यरत चिकित्सकलाई विकास समितिले निर्णय गरेर नियुक्ति गरेको बताए । ‘विकास समितिको निर्णयअनुसार एक महिनाको लागि करारमा राखिएको हो,’ उनले भने, ‘अहिले नियुक्त भएका धेरै अस्पतालमा काम गर्दै आएका पुराना चिकित्सकहरू हुन् ।’ विकास समितिको नियमावली अनुसार नै चिकित्सक नियुक्त गरिएको उनको भनाइ छ ।

यस्तै, अस्पताल विकास समितिका अध्यक्ष सिलवालले पनि विगत लामो समयदेखि काम गरिरहेका चिकित्सकलाई नै करारमा नियुक्ति गरिएको बताए । ‘ज्यालादारीमा काम गरेर अप्ठ्यारोमा परेकालाई सहजीकरण गरिएको हो,’ उनले भने, ‘त्यसमा बाहिरका एक/दुई जना परेका होलान् ।’ उनले भनेजस्तै डा. विशका र डा. सविता यसअघि अस्पतालमा कार्यरत थिएनन् । 

कोशीमा एक दर्जन बढी विभागहरू छन् । तर, चिकित्सक चाहिएका विभागमा नियुक्ति नगरेर धेरै चिकित्सक भएको विभागमै मेडिकल अफिसर नियुक्ति गरिएको छ । 

कोशीको डेन्टल विभागमा नेपाल सरकारको दरबन्दी, विकास समिति र छात्रवृत्ति करारकागरी ९ जना चिकित्सक कार्यरत छन् । डेन्टलको ओपीडीमा दैनिक ७० देखि ९० जना बिरामी आउने गर्दछन् । ९ जना चिकित्सकको सरदर दैनिक १० जना बिरामी हेर्दै आएका छन् । सोही विभागमा एक जना मेडिकल अफिसर नियुक्त गरिएको हो । ‘चिकित्सकलाई बस्ने कुर्सी नभएको विभागमा फेरि चिकित्सक नियुक्त गरेर छुट्टै डेन्टल अस्पताल चलाउन लागेजस्तो छ,’ एक चिकित्सकले भने, ‘अस्पतालमा न्यूरो सर्जरी विभाग र एनआईसीयू सञ्चालन गर्न चिकित्सक आवश्यक भए पनि त्यहाँ नियुक्त भएन ।’

कोशी अस्पतालको न्यूरो सर्जरी सेवा शुरू भएको दुई वर्ष हुन लागेको छ । दुई वर्ष हुन लाग्दा पनि एक जना न्यूरो सर्जनले विभाग थेगिरहेका छन् । न्यूरो सर्जरी विभागको लागि एक जना मेडिकल अधिकृत राख्नुपर्ने माग भए पनि सुनुवाइ भएको छैन ।

न्यूरो सर्जरी विभागमा दैनिक ३० देखि ४० जना ओपीडिमा बिरामी आउने गरेका छन् । हप्ताको प्रत्येक मंगलबार शल्यक्रिया हुने गरेको छ । शल्यक्रियापछि बिरामीलाई न्यूरो आईसीयूमा राख्नुपर्ने हुन्छ । तर, कोशीमा छुट्टै न्युरो आईसीयू छैन । शल्यक्रिया गरिएको बिरामीलाई अहिले जनरल आईसीयूमा राखेर उपचार गरिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्