
‘लोकान्तर राउण्ड अप’मा पाठकवृनदलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म दुई सय तीन जनाको मृत्यु भएको छ ।
बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
००००
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।
हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै यसबारे स्पष्टीकरण दिएका छन् ।
आइतबार राति फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले ६ अर्ब मात्र होइन, २२ अर्ब महसुल उठाइनु पर्ने सरकारको धारणा राखेको बताए ।
००००
सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
००००
बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबारको बैठकले नेपालमा बायो इथानोल उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा बायो इथानोल खरिद सम्झौता गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कूल गार्हस्थ्य उत्पादन बढाउन सकिने भन्दै यस्तो निर्देशन दिएको हो ।
००००
न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो ।
००००
आइतबार डेडिकेटेड र ट्रंकलाइनबारे छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक निर्णयविहीन भएको छ ।
के निर्णय गर्ने भन्ने विषयमा चर्को विवाद भएपछि सभापति ऋषिकेश पोखरेलले अर्को निर्णय नभएसम्म बैठक स्थगित भन्ने सूचना सुनाएपछि बिनानिर्णय बैठक सकिएको हो ।
सभापति पोखरेलले बैठक स्थगित गर्नुअघि सांसदहरूबीच चर्को भनाभन समेत भएको थियो ।
००००
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन् ।
मङ्गलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउन पूर्ण बैठक बसेको हो ।
००००
शेयर बजारमा आइतबार पहिरो गएको छ ।
नेपाल स्टक एक्स्चेन्ज परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आइपुगेको छ । आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएन ।
००००
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालू आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
००००
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।