
पछिल्लो एक महिनामा मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेंगु सङ्क्रमित फेला परेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेंगु सङ्क्रमित फेला परेका छन् ।
सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय ४, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा आठ, बकैया गाउँपालिकामा छ, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको प्रमुख मिझारले बताए ।
वर्षायामको समयमा डेंगु सङ्क्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ ।
यता डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको हेटौंडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरू भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरू गरेको हो ।
पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेंगुबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताए ।