
विराटनगरस्थित कोशी अस्पतालमा चार वर्ष काम गरेका चिकित्सकलाई पाखा लगाएर प्रतिस्पर्धाबिनै सुटुक्क नयाँ नियुक्ति गरिएको छ । अस्पताल विकास समितिले चार वर्ष काम गरेका मानसिक रोग विशेषज्ञ डा. प्रभात चालिसेलाई पाखा लगाएर करारमा नयाँ चिकित्सक नियुक्त गरेको हो ।
नेपाल सरकारको रिक्त दरबन्दीमा चार वर्ष काम गरेका डा. चासिलेलाई पाखा लगाएर मनोचिकित्सक डा. सविता खड्कालाई नियुक्ति गरेको हो । स्वास्थ्य मन्त्रालयले स्थायी चिकित्सक पठाएपछि चालिसे अस्पतालबाट बाहिरिन बाध्य भएका थिए ।
राजनीतिक दबाबमा खड्कालाई चिकित्सक नियुक्त गरिएको अस्पताल स्रोत बताउँछ । अस्पताल विकास समितिका अध्यक्ष फर.वड नेपाली कांग्रेस निकट हुन् । उनी मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुँदा अस्पताल विकास समितिको अध्यक्ष भएका थिए ।
अध्यक्ष सिलवालले नयाँ नियुक्त नगरेको दाबी गरे पनि डा. विशका गुरुङ र डा. खड्का नयाँ हुन् । समितिले भदौ २ गते प्रतिस्पर्धाबिनै करारमा नौ चिकित्सक नियुक्त गरेको थियो । त्यसमध्ये धेरैजसो अस्पतालमै कार्यरत रहेको समितिले दाबी गरेको थियो । तर, पहिल्यैदेखि काम गरेका चालिसेलाई पाखा लगाएर नयाँ नियुक्ति गरेको पाइएको हो ।
चार वर्षदेखि अस्पतालमा सेवा गरेका पुराना चिकित्सकलाई करारमा राख्दा चालिसेलाई पनि नियुक्त गर्ने तयारी थियो । तर, आफूलाई पाखा लगाएर अस्पताल विकास समितिले निर्णय गरेर डा. सवितालाई नियुक्त गरेको डा. चालिसेले बताए । ‘कोशी अस्पतालमा चार वर्षदेखि सेवा गर्दै आएको थिएँ, अरु पुरानालाई नियुक्ति गर्दा मलाई पनि विकास समितिले करारमा राख्छ होला भन्ने थियो,’ डा. चालिसेले भने, ‘तर, अस्पताल विकास समितिले राखेन । अहिले आफ्नै क्लिनिकमा बिरामी हेर्दैछु ।’
भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा. फर.वड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको थियो । नियुक्त हुनेमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. ज्योति कार्की, मनोचिकित्सक डा. खड्का, पेटरोग विशेषज्ञ डा. रोहित यादव, एनएस्थेसियाहरू डा. प्रवीन झा र डा. राजन राई छन् ।
यसैगरी मेडिकल अफिसरमा डेन्टल विभागमा कार्यरत रहनेगरी डा. निमिशा दास, आकस्मिक कक्षको लागि डा. मनोज मनिष साह र आईसीयूको लागि डा. विशका गुरुङलाई नियुक्ति गरिएको हो । उनीहरूलाई शुरूमा समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ ।
अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करार नवौं तहमा कार्यरत चिकित्सकलाई एक तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ । डा. रौनक, डा. ज्योति र डा. रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए ।
सरकारी दरबन्दीमा अर्को स्थायी चिकित्सक आउँदा जागिर जाने भएपछि उनीहरूलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरेको हो ।
यसअघि अस्पताल विकास समितिका अध्यक्ष डा. फर.वड सिलवाल र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रलाल झाको पालामा पनि तीन जना मेडिकल अफिसर नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएको थियो । त्यसबेला पनि निकटलाई नियुक्त गर्ने प्रयास भएको थियो । विरोध भएपछि अस्पतालले विज्ञापन नै स्थगित गरेको थियो ।
त्यसबेला विज्ञापन आह्वानगरी अन्तर्वार्तासम्म लिने तयारी गरिएको थियो । तर, अहिले ९ जना चिकित्सक नियुक्त गर्दा ठाडो नियुक्ति दिइएको हो । विज्ञापन आह्वान नगरी सुटुक्क नियुक्त गरिनुले आशंका उब्जिएको अस्पतालका एक चिकित्सकले बताए ।
अस्पतालका अध्यक्ष सिलवालले भने सबै पुरानैलाई नियुक्ति गरिएको दाबी दोहोर्याए । ‘डा. सविता बच्चा जन्माउन बिदामा बस्नुभएको थियो,’ उनले भने, ‘एक जना महिला पनि चाहिने भएकाले उहाँलाई नियुक्त गरेका हौं ।’
नवौं तहका डाक्टरलाई एक तह घटाएर किन नियुक्ति गरियो भन्ने प्रश्नमा भने उनले अहिले आफू काठमाडौंमा रहेको र सबै कुरा फोनमा नभन्ने बताए । ‘म अहिले काठमाडौंमा छ । फोनमा सबै कुरा किन गर्नु ? पछि विराटनगर आएपछि भन्छु,’ उनले भने ।
यो पनि
प्रतिस्पर्धा छलेर कोशी अस्पतालमा सुटुक्क नौ चिकित्सक नियुक्त