
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१० शंखमूलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

‘यही भदौ १० गते काठमाडौं–१० शंखमूल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तल्ले घरको भुइँ तल्लाको सटरभित्र उनका छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा अभियुक्त एमके कुमार गएको पाइएको छ । त्यहाँ रुपकलाई कुटपिट गरी घाइते बनाइ उनी फरार भएका थिए । रुपकको राति नै मृत्यु भएकाले हत्या गरेको अभियोगमा प्रहरीले एमकेलाई पक्राउ गरेको हो,’ उनले भने ।
पक्राउ परेका एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको बैंक चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेर प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।