१० साउन २०८३, आइतबार

महिला प्रधानमन्त्रीको चर्चा गर्नुभएकोमा ओलीजीलाई धन्यवाद– आरजु

भदौ १३, २०८१
काठमाडौं
महिला प्रधानमन्त्रीको चर्चा गर्नुभएकोमा ओलीजीलाई धन्यवाद– आरजु

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा महिला प्रधानमन्त्री बनाउने चर्चा गरिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छिन् ।

प्रधानमन्त्रीले तपाईंतिर इंगित गरेर महिला प्रधानमन्त्री भन्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यसमा सत्यता नभएको बताइन् ।

‘मलाई त्यस्तो लाग्दैन । हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्नका लागि पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टीभित्र मेरो हैसियत कति छ, मलाई थाहा छ,’कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै आरजुले भनिन्, ‘प्रधानमन्त्रीको राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्यूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । उहाँले यस्तो कुरा बताइदिँदा नेपाली जनमानसको ‘इम्याजिनेसन क्याप्चर’ भएको छ ।’

उनले एमालेसँगको सहमतिअनुसार दुई वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताइन् ।

‘प्रधानमन्त्रीले त्यो कुरा मलाई भन्नुभएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएकोजस्तो लाग्छ,’ आरजुले प्रस्ट्याउँदै भनिन्, ‘हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

आरजु भारत भ्रमणबाट फर्किनेबित्तिकै प्रधानमन्त्री ओलीले नेपालमा अब महिला प्रधानमन्त्री बनाउने इच्छा आफूलाई भएको बताएका थिए ।

परराष्ट्र मन्त्रीका रूपमा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रधानमन्त्रीसरहको सम्मान र महत्त्व पाएपछि उनको चर्चा चुलिएको थियो ।

आरजुले हरेक अप्ठ्यारोमा कांग्रेस र एमाले मिल्ने गरेको भन्दै यो सरकार अर्को चुनावसम्म चल्ने पनि बताइन् ।

‘संकट आउँदा कांग्रेस र एमालेले मिलेर सरकार बनाएको इतिहास छ । यसैले अनौठो मान्नु पर्दैन,’ आरजुले भनिन्, ‘यसैले यो समीकरण आगामी निर्वाचनसम्म जान्छ ।’

जनतालाई दुःखबाट उठाउने, सुशासन कायम गर्ने लक्ष्य सरकारको भएको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्