
सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा बिहीबार सहमति जुटेको हो ।
मन्त्रीदेखि सांसद् र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा आयोजनासँग भएको छलफलमा प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको हो ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक २ का सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत तथा वडा अध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष लगायत सहभागी थिए ।
बाह्रबिसे नगरपालिका ५ स्थित आयोजनाको विद्युत गृहको स्वीचयार्डबाट सोही नगरपालिका ३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।
२२ केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका ३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन ।
उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्ग अधिकार (राइट अफ वे) मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।
बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नगरपालिकामार्फत् बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्ग अधिकार पर्ने जग्गा तथा संरचनाहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।
यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल शुरू गर्ने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्न प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताए ।
उनले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजनामा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशनसमेत दिए ।
सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको बताए ।
मध्य भोटेकोशी आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ ।
निर्माण सम्पन्न भएको मध्य भोटेकोशीबाट विद्युत् उत्पादन शुरू गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो ।
हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन शुरू गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेका छन् ।