
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिएका छन् । मुख्य सचिवलाई बधाई दिँदै उनले हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन सुझावसमेत दिएका छन् ।
नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उनले यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने उनले बताएका छन् ।
'सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो,' सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।'
सरकारले बिहीबार मात्रै अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।