
मोरङ प्रहरी यतिबेला दुई छोरीलाई विष खुवाएर हत्या गरेको आरोप लागेकी सुन्दरहरैँचाको गोठगाउँकी अस्मिता पौडेल कार्कीको खोजीमा जुटेको छ । बस्ती क्षेत्रतिर खोज्दा दुई दिनमा पनि उनी फेला नपरेपछि प्रहरीले सोमवार जङ्गलतर्फ खोज्न शुरू गरेको हो ।
केराबारी, खोर्साने र पूर्वाञ्चल विश्वविद्यालयको जङ्गल क्षेत्रमा अस्मिताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।
‘घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अहिले हामी दैनिक ४०-४५ जना जति भेला भएर जङ्गलमा खोजी गरिरहेका छौँ । तर फेला पारेका छैनौँ ।’
अस्मिताको मोबाइल भने छोरीहरू शव भेटिएकै स्थानमा फेला परेको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार उनले श्रीमान् अर्जुन कार्कीलाई ‘तेरा छोरी मारिसकेँ’ भनेर म्यासेज गरेको खुलेको छ । ‘छोरी मारिसकेको भनेर श्रीमानलाई म्यासेज पठाएको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मोबाइल पनि पानीमा भिजेको अवस्थामा भेटिएको छ । यो म्यासेज अस्मिताले नै पठाएको हो कि होइन भनेर अनुसन्धान गर्दैछौँ ।’

ती अधिकृतका अनुसार अस्मिताले शनिवार गोठगाउँकै एक होटेलमा मःम खाएको स्थानीयले प्रहरीलाई खबर गरेका छन् । ‘स्थानीयले होटेलमा मःम खाएको देखेको भनेका छन्, तर यकिन भएको छैन,’ उनले भने, ‘फोनको सीडीआर पनि परीक्षण गर्ने काम भइरहेको छ ।’
अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालयको टोलीसहित स्थानीयले पनि जङ्गलमा खोजिरहेका छन् ।
गत शुक्रवार साँझ ८ बजेतिर श्रीमान् अर्जुनसँग झगडा भएपछि अस्मिता छोरीहरू लिएर हिँडेकी थिइन् ।
आमासँगै हिँडेका छोरीहरू तीन वर्षकी अर्पणा कार्की र एक वर्षीय आइका कार्की केरा बगानमा मृत भेटिएका थिए । ती दुई बालिकाको विषादी खुवाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।
अर्कोतिर आमा अस्मिता पनि फरार भएपछि हत्याको आरोप सिधै उनैतिर सोझिएको हो ।