२५ जेठ २०८३, सोमबार

डीडीसी विराटनगरले घटायो दुग्धजन्य पदार्थको मूल्य

भदौ १८, २०८१
विराटनगर
डीडीसी विराटनगरले घटायो दुग्धजन्य पदार्थको मूल्य

दुग्ध विकास संस्थान (डीडीसी) विराटनगरले गएको मंसिर महिनादेखि किसानसँग किनेको दूधको भुक्तानी दिएको छैन । ९ महिनाभन्दा लामो समयदेखि किसानले करिब ३६ करोड रुपैयाँ दूधको भुक्तानी दिन बाँकी छ । 

किसानको करोडौं भुक्तानी गर्न नसकेको डीडीसीलाई अर्थ मन्त्रालयले सर्तसहित ६० करोड रुपैयाँ कर्जा उपलब्ध गराउने भएको छ । सरकारले कर्जा दिएसँगै किसानले भुक्तानी पाउने विश्वास गरिएको छ । 

सरकारले दिने रकमको ठूलो हिस्सा विराटनगर आयोजनामा आउने विराटनगर आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । ‘३६ करोड रुपैयाँभन्दा बढी रकम हामीले भुक्तानी दिन बाँकी छ, यति लामो अवधिको बक्यौता अरु आयोजनाको छैन,’ उनले भने, ‘त्यसैले पनि हामीले स्वभाविक रूपमा बढी पैसा पाउँछौं, अरुले बीचमा दुई/तीन महिनाको भुक्तानी लिए । हामीले पाएका थिएनौं । हामीलाई २५ करोड रुपैयाँभन्दा बढी रकम आउनु पर्ने हो ।’ 

उनका अनुसार संस्थानले विराटनगर आयोजनालाई २५ करोड रुपैयाँ निकासा पठाएको खण्डमा ६ महिनाको भुक्तानी गर्न पुग्नेछ । पुसदेखि दूधको उत्पादन पनि घट्ने भएकोले आयोजनालाई सहज हुने उनले बताए । 

नियमित रूपमा दूधको भुक्तानी नपाउँदा किसानहरू पशुपालन व्यवसायबाट विस्थापित हुने अवस्थामा पुगिसकेका छन् । दुग्ध विकास संस्थानको विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध संकलन गर्ने गरेको छ । सयौँ किसानहरूले उत्पादन गरेको दूध सहकारी तथा संकलन केन्द्रमार्फत् आयोजनाले खरिद गर्दै आएको छ । 

अहिले करिब ८ हजार किसानमार्फत् दैनिक १३ हजार लिटर दूध विराटनगर आयोजनाले संकलन गरिरहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । 
सञ्चालन नोक्सानी थपिँदै गएकोले ९ महिनादेखि किसानलाई दूधको भुक्तानी दिन नसकेको दुग्ध विकास संस्थानले धूलो दूध (पाउडर) तथा अन्य दुग्धजन्य उत्पादनको मूल्य घटाएपछि विराटनगर आयोजनाको बिक्री बढेको छ । उत्पादनहरूको मूल्य घटेपछि दैनिक बिक्रीमा उल्लेख्य सुधार भएको आयोजनाका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । 

लामो समयसम्म उत्पादन मौज्दात रहेका कारण संस्थानको घाटा बढ्दै गएको र चालु पुँजी अभाव भएपछि एक महिनाअघि नै संस्थान सञ्चालक समितिले पाउडर दूधको मूल्य घटाएको थियो । प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री गर्दै आएको पाउडर दूधको मूल्य घटेर ६०० कायम भएपछि विराटनगरबाट पाउडरको बिक्री झण्डै दोब्बर परिमाणमा बिक्री हुन थालेको आयोजनाले जनाएको छ । 

विराटनगर आयोजनाका प्रमुख चौधरीले भने, ‘उत्पादनहरूको मूल्य घटेपछि बिक्रीमा राम्रो सुधार आएको छ, अहिले चाडपर्व लक्षित गरेर संस्थानले उत्पादनहरूको मूल्य घटाएको हो । त्यसको सकारात्मक प्रभाव देखिएको छ ।’

डीडीसीले घिउको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटाएर बिक्री गर्न थालेको जनाएको छ । यसैगरी प्रतिलिटर १५० रुपैयाँमा बिक्री गर्दै आएको दहीको मूल्य घटाएर १३५ रुपैयाँ कायम गरिएको छ । यस्तै २९० रुपैयाँका दरले बिक्री हुँदै आएको मिठाई (रसभरी, लालमोहन) २७०, ५० रुपैयाँमा बिक्री गरिरहेको आइसक्रिम कपको ४० रुपैयाँ, ५० रुपैयाँमै बिक्री भइरहेको कप दही ३५ रुपैयाँमा बिक्री गर्न थालेको चौधरीले बताए । 

मूल्य घटेपछि बजारमा माग पनि बढेको उनले जानकारी दिए । पाउडर दूध भने डेरी उद्योग र बिस्कुट उद्योगहरूले खरिद गरेर लैजाने गरेका छन् । विगतमा बिस्कुट उद्योगहरूले न्यून परिमाणमा मात्र पाउडर दूध खरिद गर्ने गरेकोमा मूल्य घटेपछि बढी खरिद गर्न थालेका हुन् । 

डीडीसीसँग ठूलो पैमानामा दग्ुधजन्य तयारी वस्तु मौज्दात भएका कारण चालु पुँजीको संकट परेको हो । विराटनगरस्थित आयोजनासँग मात्र २१० मेट्रिक टन अर्थात् २ लाख १० हजार किलो बटर गोदाममा थन्किएर बसेको छ । बटर राख्ने ठाउँ नभएकोले डीडीसीले सुनसरीको तरहरास्थित सगरमाथा विशिष्टीकृत सहकारी संस्था लिमिटेडको कोल्डस्टोरमा भाडा तिरेर ११० टन राखेको छ  ।  आयोजनामै १०० टन बटर छ । त्यसबाहेक ७० टनजति पाउडर दूध गोदाममा थन्किएको छ  ।

डीडीसीसँग देशभर ९०० मेट्रिक टनभन्दा बढी पाउडर दूध मौज्दात छ भने त्यति नै परिमाणमा बटर गोदाममा थन्किएर बसेको छ । विराटनगरमा १० टन जति घिउ बिक्री नभएर गोदाममा राख्नु परेको आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्