
२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई प्रदान गरिने भएको छ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार गौतमको उपन्यास ‘अद्वैत’लाई प्रदान गरिने भएको हो ।
प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो।
गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
यसैगरी साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चामलिंगलाई पद्मश्री साधना सम्मान प्रदान गरिने प्रतष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चामलिंग २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए ।
विज्ञप्तिमा उल्लेख भएअनुसार समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्रा. डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने छ ।
उनीहरूलाई पुरस्कारको राशी जनही ३ लाख तथा सम्मान पत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।