१० साउन २०८३, आइतबार
सरकारी गाडीमा कर्मचारीको मनोमानी

बेथितिको अनुसन्धान गर्ने सतर्कतामै गडबडी : सचिवदेखि उपसचिवसम्मबाट गाडी दुरुपयोग !

भदौ २५, २०८१
काठमाडौं
बेथितिको अनुसन्धान गर्ने सतर्कतामै गडबडी : सचिवदेखि उपसचिवसम्मबाट गाडी दुरुपयोग !

राष्ट्रिय सतर्कता केन्द्रमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यदेखि उपसचिवहरू समेतले सरकारी गाडी दुरुपयोग गर्दै आएको पाइएको हो ।

सचिवलाई चढ्न प्रदान गरिएको गाडी सचिवकी श्रीमतीलाई कार्यालय पुर्‍याउन र ल्याउन दुरुपयोग हुने गरेको छ । 'सचिवज्यूको गाडी बिहान साढे ८ बजे कुपन्डोल हाइटस्थित निवासबाट लाजिम्पाटस्थित एभेरस्ट बैंकसम्म जान्छ,' केन्द्र स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसपछि बेलुका ५ बजे पुनः उहाँकी श्रीमतीलाई बैंकबाट घर पुर्‍याउन पनि प्रयोग हुने गरेको छ ।'

सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्‍याउन लगाउँदै आउनुभएको छ ।'

त्यसपछि पुनः ड्राइभर केन्द्रमा आएर सचिवलाई कुपन्डोल हाइटस्थित निवासमा पुर्‍याउने गरेको स्रोतले बतायो ।

यता सचिव वैद्यले भने आफू कार्यालय आउने बेलामा श्रीमतीलाई बैंकमा छाडेर आउने गरेको बताए ।

'मैले आफ्नो श्रीमतीलाई छुट्टै गाडी दिएको छैन । म अफिस आउँदा लाजिम्पाटस्थित हेड अफिसमा पुर्‍याउने गरेको छु,' उनले लोकान्तरसँग भने, 'फेरि कार्यालयबाट घर फर्किंदा उहाँलाई पिक गर्ने गरेको छु । त्यति त पाइयो नि !'

सचिव वैद्यले यस्तो दाबी गरे पनि उनकी श्रीमतीको कार्यालय बाटोमा पर्दैन । कुपन्डोलबाट लाजिम्पाट पुगी फेरि फर्किएर सिंहदरबार आउनुपर्छ ।

सचिव मात्र होइन, केन्द्रका उपसचिवहरूले समेत सरकारी गाडी दुरुपयोग गर्ने गरेको पाइएको छ । लेखातर्फका उपसचिव श्रीधर ज्ञवालीले सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् ।

सहसचिवभन्दा मुनिका कर्मचारीले सरकारी गाडी प्रयोग गर्न पाउँदैन । तर, लेखा उपसचिव ज्ञवालीले केन्द्रको ७४१८ नम्बरको रातो गाडी चढ्दै आएका छन् । गाडीसहित चालक, इन्धन, सवारी साधन मर्मतको रकम समेत उनले लिने गरेको केन्द्र स्रोतले बतायो ।

'उपसचिवले गाडी पाउने प्रावधान छैन । त्यसमा पनि उहाँले गाडी, चालक, इन्धन र मर्मत सम्भारको रकम समेत केन्द्रबाट बुझ्दै आउनुभएको छ,' स्रोतले थप्यो, 'लेखा उपसचिव मात्र होइन, अन्य दुईजना उपसचिवहरूले पनि नियमविपरीत सरकारी गाडी चढ्दै आएका छन् ।'

उपसचिवहरू हरिप्रसाद शर्मा र हिरामणि सुवेदीले नियमविपरीत सरकारी गाडी चढ्ने गरेका हुन् ।

अन्य सरकारी निकायमा हुने सवारी साधन दुरुपयोगको अनुगमन गर्ने तथा दुरुपयोग भएको पाइएमा कानूनबमोजिम कारबाही गर्न निर्देशन दिने राष्ट्रिय सतर्कता केन्द्रमै सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको हो ।

लेखा उपसचिव ज्ञवालीले ७४१८, उपसचिव हिरामणि सुवेदीले ९५०८ र हरिप्रसाद शर्माले ६७५३ नम्बरको गाडी चढ्दै आएका छन् ।

लेखा उपसचिव ज्ञवाली र प्रशासन शाखाका उपसचिव शर्माविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी नै परेको छ । केन्द्र प्रधानमन्त्री मातहतकै कार्यालय हो ।

नियमविपरीत सरकारी गाडी लिएको, चालक, इन्धन, मर्मत खर्च समेत बुझ्ने गरेको, गाडीको दुरुपयोग गरेको भन्ने व्यहोरासहितको उजुरी आएको प्रधानमन्त्री कार्यालय स्रोतले स्वीकार्‍यो।

'सतर्कता केन्द्रका लेखा उपसचिव श्रीधर ज्ञवाली र उपसचिव हरिप्रसाद शर्माको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी आएकोमा छानबिन गर्न उजुरीसहितको पत्र सतर्कता केन्द्रलाई नै पठाइसकिएको छ,' प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरसँग भन्यो, 'अब केन्द्रले त्यसको छानबिन गरेर प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउनेछ ।'

ज्ञवाली केन्द्रमा ढिला आएर राति ८ बजेसम्म बस्ने गरेको, दिनहुँ उजुरी हेरेर उजुरीमा आरोप लगाइएका व्यक्ति तथा सरकारी कर्मचारीलाई फोन गरी थर्काउने, बार्गेनिङ समेत गर्ने गरेको उजुरीमा आरोप लगाइएको छ ।

त्यसबाहेक कर्मचारीको सम्पत्ति विवरणसम्बन्धी डेटा अप्लाई गर्ने सफ्टवेयर जडान गर्ने भेन्डरको म्याद कमिसनका कारण थप नगरेपछि कर्मचारीले सम्पत्ति विवरण अद्यावधिक गर्न नसकेको भन्ने आरोप समेत उजुरीमा लगाइएको छ ।

'भेन्डरबाट कमिसन नपाएका कारण ३ लाख रुपैयाँ बजेट विनियोजन भएपनि सफ्टवेयरको म्याद थप गरिएको छैन,' सतर्कता केन्द्रका एक कर्मचारीले लोकान्तरसँग भने, 'केन्द्रकै लापरवाहीका कारण देशभरका कर्मचारीले सम्पत्ति विवरण अद्यावधिक गर्न नपाउँदा ५ हजार रुपैयाँ जरिवाना बुझाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।'

त्यसबाहेक हेटौंडामा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दा ज्ञवालीले ३५ प्रतिशत कमिसन खाएको, लेखा शाखामा कार्यरत करारका कर्मचारीलाई हटाएको आरोप समेत उजुरीमा लगाइएको छ ।

सरकारी गाडी उपसचिवले चढ्न नमिल्ने भएपनि कार्यालय प्रमुखको स्वीकृतिमा आफूले गाडी चढेको ज्ञवालीले बताए । 'मैले मात्र गाडी चढेको होइन, केन्द्रकै अन्य उपसचिवहरूले पनि गाडी चढिरहेका कारण कार्यालय प्रमुखको स्वीकृतिबमोजिम चढेको हो,' ज्ञवालीले लोकान्तरसँग भने ।

केन्द्रमा राति ८ बजेसम्म बसेर उजुरीमा आरोपित व्यक्तिलाई थर्काउने तथा बार्गेनिङ गर्ने गरेको आरोप भने उनले अस्वीकार गरे ।

'अनुसन्धान अधिकृतले अनुसन्धान गरिसकेका २५/३० वटा फाइल रायका लागि मकहाँ आएको थियो,' ज्ञवालीले थपे, 'ती फाइलको हार्ड कपी मोटो हुने तथा सफ्ट कपी नहुने हुनाले ल्यापटपमा राखेर घरमा लाने कुरा पनि भएन । सोही क्रममा राय दिनका लागि राति ८ बज्ने गरेको हो ।'

करारका कर्मचारीलाई हटाएको भन्ने आरोपबारे उनले भने, 'करारका एकजना कार्यालय सहयोगी थिए  । उनलाई मैले जागिरबाट हटाएको होइन, आफ्नो शाखामा चाहिँ नराखेको हो । उनको सरुवा दर्ता चलानी शाखामा भएको हो ।'

सम्पत्ति विवरणसम्बन्धी सफ्टवेयरको म्याद पहिले नै सकिइसकेको तथा भेन्डरले सफ्टवेयरको सोर्सकोड समेत नदिएको हुनाले म्याद थप नगरिएको उनले बताए ।

'सफ्टवेयर खरिदका लागि ३ लाख रुपैयाँ विनियोजन भएको पनि हो, तर मसँग ३ लाख रुपैयाँ छ भन्दै जाने होइन नि,' उनले थपे, 'खरिद शाखाले खरिद प्रक्रिया अगाडि बढाए पो मैले रकम दिने हो ।'

त्यसबाहेक केन्द्रका यसअघिका सचिव रामआधार साहले विभिन्न सरकारी कार्यालय अनुगमन तथा स्थलगत छानबिनका लागि स्वीकृत गरेको केही कर्मचारीको भ्रमण आदेश समेत ज्ञवालीले अस्वीकृत गरेको आरोप लागेको छ ।

'विगतमा पूर्वसचिव रामआधार साह र लेखा उपसचिव श्रीधर ज्ञवालीबीच राम्रो ट्युनिङ मिलेको थिएन,' ती कर्मचारीले लोकान्तरसँग भने, 'लेखा उपसचिवले गर्न खोजेको अनियमितता सचिवले रोकिदिएपछि उनले स्वीकृत गरेका कर्मचारीको भ्रमण आदेश ज्ञवालीले रोकिदिएका छन् ।'

भ्रमण आदेश रोक्ने काम आफ्नो नभएको ज्ञवालीले बताए ।

'साउन ८ गते रवाना लिएर जानुभएका सचिव साहले १ दिनअघि केन्द्रका केही कर्मचारीका लागि साउन २१ देखि भदौको ५ सम्म र केही कर्मचारीका लागि भदौ ५ गतेदेखि १९ गतेसम्मको भ्रमण आदेश स्वीकृत गर्नुभएको थियो,' उनले लोकान्तरसँग भने, 'तर, पदाधिकार भएका व्यक्तिले मात्र स्वीकृत गर्न मिल्छ भनेर मैले राय मात्र दिएको हो ।'

प्रधानमन्त्री कार्यालयमार्फत आएको उजुरी सम्बन्धमा छानबिन गर्न एक सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको सचिव वैद्यले खुलाए । 'उपसचिवले चढेको गाडीलाई सच्याउन निर्देशन दिएको छु,' उनले थपे, 'उपसचिवभन्दा पनि महाशाखालाई गाडी दिन भनेर निर्देश दिएको छु ।'

त्यसबाहेक अन्य विषय हेर्दा उजुरी केन्द्रकै असन्तुष्ट कर्मचारीहरूले दिएकोजस्तो देखिएकाले अन्य विषय पनि सम्बोधन हुने उनले बताए ।

समाचारका केही विषयवस्तुमा श्रीधर ज्ञवाली र हरिप्रसाद शर्माको खण्डन (अपडेट) :

हरिप्रसाद शर्माश्रीधर ज्ञवाली

 

salt training

कमेन्ट गर्नुहोस्