
सुन तस्करीमार्फत आएको रकम हुन्डी र क्रिप्टोमार्फत बाहिर पठाउने मुख्य नाइके वाल्डो क्यासिनोका निर्देशक टेरेन्स सीएसई रहेको खुलेको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनमा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूको खानपान र मनोरञ्जन गर्ने मुख्य स्थल नै वाल्डो क्यासिनो रहेको उल्लेख छ ।
सार्वजनिक नभएको प्रतिवेदनको केही अंश लोकान्तरलाई प्राप्त भएको छ ।
प्राप्त प्रतिवेदनअनुसार सुन तस्करीका अभियुक्त एलेक्स भन्ने याउ पुचङ मनोरञ्जनका लागि नियमित रूपमा क्यासिनोमा आउने गरेकाले टेरेन्ससँग चिनजान भएको तथ्य खुलेको छ ।
‘प्रतिवादी एलेक्स भन्ने याउ पुचङले ५२ हजार अमेरिकी डलर वाल्डो क्यासिनोमार्फत विदेशमा पठाएको भन्ने सह–प्रतिवादी शिवकुमार सर्राफको बयान कागजको ब्यहोरामा उल्लेख गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘टेरेन्सले आफू वाल्डो क्यासिनोको मालिक नभए पनि डाइरेक्टर भएको बताएकाले उनी नै व्यवस्थापकीय जिम्मेवारीका मुख्य व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ ।’
वाल्डो क्यासिनोमा गैरकानूनी रूपमा अनलाइन जुवा खेल समेत हुने गरेको र रकम जम्मा गर्ने माध्यम बनेको विषय प्रतिवेदनमा औंल्याइएको छ । सुनको अवैध पैठारीका लागि पनि वाल्डोलाई उपयोग गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘वाल्डो क्यासिनोमा रकम जम्मा गर्नेमा खासगरी चिनियाँ मूलका व्यक्तिहरूको रकम पठाउने कार्यमा क्रिप्टो र हुन्डीसमेतका कारोबारीको आशंकाजन्य अवस्था रहेको देखिन्छ ।’
प्रतिवेदनअनुसार दावाजिन वाङ र दावा छिरिङ समेत चिनियाँ मूलका व्यक्तिहरूले पटक–पटक ल्याएको (केहीपटक त बोरामा) रकम वाल्डो क्यासिनोमा जम्मा गराई पछि लैजाने गरेको भन्ने वाल्डोमा कार्यरत जनशक्तिमध्येको सुराकी सूचना प्राप्त भएको उल्लेख छ ।
आयोगले अध्यागमनमार्फत टेरेन्सको यात्रा विवरण समेत जाँच गरेको थियो । टेरेन्स एक वर्षमा पटक– पटक ‘हङकङ–नेपाल’ आवातजावत गरेको फेला परेको थियो । उक्त ‘ट्राभल हिस्ट्री’ लाई आयोगले अस्वाभाविक भनेको छ ।
‘पछिल्लोपटक गत फागुन महिनामा पनि निज हङकङमा गई फर्केको भन्ने बुझिएको छ । तसर्थ माथि उल्लिखित प्रत्यक्ष एवं परिस्थितिजन्य प्रमाणबाट सुनको अवैध पैठारी गर्ने कार्यमा टेरेन्स मतियार रहको भन्ने उल्लेख भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वाल्डो क्यासिनो/होटल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको आश्रयस्थल बनेको देखियो ।’
आयोगले टेरेन्सको ट्राभल हिस्ट्री हेर्दा सन् २०२२ मार्च २५ मा पर्यटक भिसामा नेपाल आएको, दोस्रोपटक बिजनेस भिसामा सोही वर्ष नोभेम्बरमा, तेस्रोपटक सन् २०२३ को फेब्रुअरी र चौथोपटक सोही वर्ष अप्रिलमा नेपाल आएको देखिन्छ ।
प्रतिवादीमध्येका चिनियाँ नागरिक याओ पुचेङको क्यासिनोमा डिपोजिट रकम हेर्दा पटक–पटक गरी १३ करोड रकम बराबरको कारोबार देखिएको छ ।
वाल्डोमा कोको (आईडी नम्बर १०१८९), वाङ योङ जिआङ (आईडी नम्बर १३१०८) ले पोकर खेल अपरेट गर्ने गरेको प्रतिवेदनमा उल्ल्ेख छ, जसमा जिआङले प्रतिवादी याओ पुचेङबाट एक करोड नगद बुझेर लगेको देखिन्छ । अर्का चिनियाँ नागरिक वेन याङले वाल्डोमै एक करोड २५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । तर, त्यसबापत वाल्डोले कुनै क्वाइन समेत दिएको फेला परेको छैन ।
वाल्डोको आन्तरिक रेकर्ड (सेभिङ रेकर्ड) मा आईडी नम्बर १५४२५ बाट सन् २०२३ फेब्रुअरी २७ तारिख राति ९ बजेर ४० मिटेको समयमा आईडी नम्बर १३१०८ मा ८० लाख रुपैयाँ ट्रान्सफर भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, वाल्डो क्यासिनोको आईडी नम्बर १३१०८ र १५४२५ दुवैको ‘अफिसियल स्टेटमेन्ट’ मा सन् २०२३ फेब्रुअरी २६ तारेखपश्चात उनीहरूबीच कुनै पनि कारोबार भएको देखिँदैन ।
चिनियाँ नागरिक कोको भन्ने हाओ सुइहोङ (राहदानी नम्बर ईसीओ ७९९४८९) ले आफ्नो क्यासिनोको आईडीनम्बर १०१८९ बाट एलेक्स भन्ने याओ पुचेङको आईडी नम्बर १५४२५ मा ४० लाख रकम पठाएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशनमा क्यासिनोमा जुवा खेल्न आएका ग्राहकले ५ हजार अमेरिकी डलरसम्म कारोबार गर्न सक्ने र सोभन्दा बढी रकमको हकमा बैंकमार्फत कारोबार गर्नुपर्ने उल्लेख भएता पनि प्रतिवादीहरूले सो नगरेको प्रतिवेदनमा उल्लेख छ ।
‘प्रतिवादी एलेक्समार्फत क्यासिनोमा रकम जम्मा गर्न लगाउने, सो रकम केही समयपछि फिर्ता गर्ने गरेको देखियो,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘अनुसन्धानको सिलसिलामा संकलन भएको सीसीटीभी फुटेजमा भने एलेक्सले जुवा खेलेको देखिँदैन ।’
एलेक्सले क्यासिनोमा गएर प्राइभेट कोठामा मानिस भेट्ने र क्यासिनोलाई अवैध सुन कारोबार गर्ने स्थानको रूपमा प्रयोग गर्ने गरेको प्रतिवेदनमा औंल्याइएको छ ।
‘वाल्डो क्यासिनो अवैध सुन कारोबार गरेबापतको हिसाब मिलान गर्नका लागि प्रयोग भएको देखिन्छ, ‘प्रतिवेदनमा भनिएको छ, ‘एलेक्सले वाल्डोबाट निस्कने क्रममा झोलामा पैसा लिएर फर्किने गरेको देखिन्छ ।’
आयोगले प्रतिवेदनमा टेरेन्सले अन्य प्रतिवादीहरूसँग मिलेर अवैध सुनको कारोबार गरी ३ हजार १ सय ९४ किलो ६ सय ६८ ग्राम सुन तस्करीलाई मलजल गरेको भन्दै उनीविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ उपदफा १ अनुसार कसुरमा मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, उनले राष्ट्र बैंकबाट जारी सूचनाविपरीत काम गरेकाले १५ करोड २५ लाख रुपैयाँ बराबरको बिगो बमोजिमको जरिवाना गर्नुपर्ने सिफारिश आयोगको छ ।
आयोगको प्रतिवेदनले एलेक्स भन्ने याओ पुचेङ समेतका आपराधिक समूहमा रही अवैध सुन बिक्रीबाट प्राप्त रकम निर्मलीकरण गरी दिएको देखिएकाले उक्त कार्य संगठित अपराध सजाय ऐन, २०७० को परिच्छेद १ को खण्ड (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह रही परिच्छेद २ को दफा ४ को उपदफा १ विपरीत ऐनको दफा ३ पुष्टि हुन आएको भन्दै कारबाहीको सिफारिश गरेको छ ।
आयोगले टेरेन्सउपर अवैध सुन कारोबारतर्फ जम्मा ३० अर्ब ८४ करोड १२ लाख २६ हजार बिगो जरिवाना गर्न सिफारिश गरेको छ । सीआईबीले टेरेन्सलाई बुधबार पक्राउ गरेको थियो ।