
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को चुनावमा एकल बहुमत ल्याउन नसके जटिलतामा फसिने बताएका छन् ।
स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला कार्यक्रममा शनिबार बोल्दै ओलीले आगामी चुनावमा एकल बहुमत ल्याउनुपर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘खेत छ, बिउ राखेपछि, पछि गर्दा पनि हुन्छ भनेर त्यो चिज हासिल हुँदैन,’ ओलीले भने, ‘मिसन ८४ हाम्रो लागि निर्णायक विन्दुमा छ । सफलतातर्फ अघि बढ्नुपर्छ । यसको लागि निर्णायक बनेर लाग्नुपर्छ । नभए जटिलतामा फसिन्छ । ८४ मा एकल बहुमत ल्याउन सकिन्छ । यसको लागि बलिया आधार छन् । यतिबेलै सारा सामर्थ्य लगाएर मिसन ८४ सफल बनाउनुपर्छ ।’
अघिल्लो चुनावमा नयाँ पार्टीले भोट घटाएको भन्दै उनले प्रभावकारी तयारी गरेमात्रै एमालेले अर्को चुनावमा एकल बहुमत ल्याउने बताए ।
५ वर्षभित्र के परिवर्तन हुन्छ, को कहाँ हुन्छ त्यो बेग्लै कुरा भन्दै उनले प्रभावकारी रूपले अगाडि बढ्नुपर्ने बताए ।
पार्टीभित्र कार्यकर्ता भएपछि उसले काम गर्नुको विकल्प नभएको ओलीले बताए ।
‘हामी कोही पनि नेता होइन कार्यकर्ता हौं । कार्यकर्ता भनेको काम गर्ने कर्ता हो । हामी सबै कार्यकर्ता हौं’ ओलीले भने, ‘यसैले जिम्मेवारी बन्नुपर्छ । पद भनेको श्रीपेच होइन, काम गर्नका लागि तोकिएको जिम्मेवारी हो ।’
केही प्रतिक्रियावादीले राष्ट्रियता भन्ने चिज नहोस् भनेर भाँड्न खोजेको आरोप पनि ओलीले लगाए ।
‘राष्ट्रमा एकता हुन नदिन प्रतिक्रियालायवादी लागेका छन् । भाँड्ने, एकता हुन नदिने, राष्ट्रियता भन्ने चिज नहोस् भन्नेमा छन्,’ ओलीले भने, ‘हामी नेपाली हौं भन्ने भावनामा अडिग हुनुपर्छ । राष्ट्रिय भावना र एकता कमजोर हुन दिन हुँदैन । यस्तो भए नेपालको अस्तित्व खतरामा पर्छ । विकासको प्रक्रिया ध्वस्त हुन्छ ।’
तसर्थ सचेत भएर अगाडि बढ्नुपर्ने ओलीको भनाइ छ ।