
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही हुने बताएका छन् ।
सूर्य थापा नेतृत्वमा बनेको समितिको प्रतिवेदन संसद्मा प्रस्तुत भएपछि सञ्चारकर्मीलाई जवाफ दिँदै बर्तौलाले अब कानून बमोजिम दोषीलाई कारबाहीको प्रक्रिया सरकारले अगाडि बढाउने बताएका हुन् ।
‘सहकारीमा भएको रकम अपचलनबारे छानबिन गर्न समिति बनाइएको थियो । समितिले असाध्यै मेहनतका साथ प्रतिवेदन तयार गरी संसद्मा प्रस्तुत गरेको छ । प्रतिवेदनमा ज-जसलाई दोषी भनिएको छ । उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढ्छ । कानून बमोजिम दोषी देखिएकालाई कारबाही हुन्छ,’ बर्तौलाले भने, ‘अहिलेसम्म हेर्न पाएका छैनौं । प्रतिवेदन बमोजिम दोषीलाई कारबाही हुन्छ । बेथितिलाई रोक्न, कानूनी संरचनागत सुधार निक्षेपको सुरक्षाको लागि सरकारले कदम चाल्नेछ ।’
प्रतिवेदनमा उल्लेख भए बमोजिम सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।