×

'भारतको नयाँ दिल्लीबाट साढे १२ बजेको टिकट मिल्यो । काठमाडौं ओर्लिएँ । एयरपोर्टबाट सिधै गुह्वेश्वरी गइयो । परिवारका सदस्यहरूले पहिल्यै ठाउँ निश्चित गरेका रहेछन् । देब्रे हातमा गोलीको घाउ छ । ब्यान्डेज फेरेर जिउभरी घ्यु दलें । भेटेजति आफैंले दलेको थिएँ । बाँकी शरीरमा जहान परिवारले दलिदिए । त्यसपछि खोलामा चोपलिएर नुहाएँ । नुहाएपछि सत्यनारायण पूजामा बसेँ । एकछिनपछि दुलाहा हुँदा जस्तै सिङ्गारिएँ । श्रीमती पनि सिङ्गारिइन् । पुनः विवाह गरियो ।'

Laxmi Bank

यो ‘मरिसकेका’ एक युवाको कथा हो । ५ फिट ८ इन्च अग्ला ३० वर्षे राजकुमार निरौला मरिसकेको खबर घरमा आयो । शव नआउने निष्कर्षमा परिवार पुग्यो । हिन्दू परम्पराअनुसार कुशको शव बनाई मोरङको बूढीगंगा– ५ बाँसबारीस्थित परोपकार घाटमा ३ सयजना मलामी गएर अन्त्येष्टि गरियो । श्रीमती र ठूलो छोरा किरियापुत्री बसेका थिए । घरमा किरिया बसेको चौथो दिन चल्दै थियो । एक्कासि राजकुमार भिडियो कलमा आए । टोल छिमेकमा हल्लिखल्ली मच्चियो । पीडाको आँसु एकाएक खुशीमा बदलियो । ह्वाट्सएपमा कल गरेपछि श्रीमती र छोराले तत्कालै सेतो कपडा फुकाले । गाई दान गरी ३ सय मलामी बोलाएर चोख्याइयो ।


Advertisment

१३ दिन नै काजकिरिया सकेको भए प्रक्रिया अझै लामो हुन्थ्यो । किरिया बसेको ४ दिन मात्रै भएकाले गाई दान गरेर सकियो । त्यसपछि सत्यनारायण पूजा लगाउनु पर्‍यो । शरीरभरि घ्यु दल्नुपर्‍यो । अनि दुई छोराकी आमासँग फेरि विवाह गर्नुपर्‍यो । यी कुरा सुनाउँदै गर्दा निरौला खुशी नै देखिए । कुनै बनावटी भाव थिएन । धाराबाहिक रूपमा आफ्नो भोगाइ सुनाउँदै गए । 


Advertisment

श्रीमतीसँग पुनर्विवाह

राजकुमार निरौला रुसी सेनामा भर्ती भएको १ वर्ष पुग्दैछ । यो १ वर्षको बीचमा उनले कल्पना समेत नगरेका क्षण भोगे । ‘मान्छेलाई दुःखले त जहाँ गए पनि नछाड्ने रहेछ,’ उनले भने । रुसी सैनिकको नियमानुसार निरौला अहिले घाइते भएकाले ४५ दिने बिदामा छन् ।

नेपालबाट दलालमार्फत रुस । रुसमा पनि नेपाली दलालमार्फत सेनामा भर्ती । भर्तीपछि हातहतियार चलाउन २२ दिने तालिम । त्यसपछि युक्रेनी सेनासँग भिड्नका लागि ‘रेडजोन’को यात्रा । घाइते शरीर लिएर छेउकै साथीको लास नाघ्दै हिँडे उनी । मृत्युलाई जितेर फर्किएका राजकुमारले आफ्नो अनुभव लोकान्तरसँग बाँडेका छन् ।

पुनर्जन्मको पूजा

यसरी पुगे रुस 

पुरानो घर खोटाङको रावबेसी । बुवाहरू मोरङ । यता बूढानीलकण्ठ भंगालमा बसोबास छ, राजकुमारको । एसएलसी गरेका, अग्ला अनि खाइलाग्दा राजकुमार भलिबलका उम्दा खेलाडी हुन् । भलिबल खेल्ने क्रममा एक साथीमार्फत दलालसँग भेट भयो । भिजिट भिसामा रुस जाने र उतै रुसी सेनामा भर्ती हुने योजना बन्यो । प्रमोद दाहाल र भरत बस्नेत (बाग्लुङ) नाम गरेका दलालले उनलाई भने– ‘यताबाट भिजिट भिसामा जाने हो । मस्कोमा हाम्रो साथी हुन्छ । रुसी सेनामा भर्ती हुन त्यस्तो समस्या छैन । सबै प्रक्रिया पूरा गर्न साढे ७ लाख रुपैयाँ लाग्छ ।’

राजकुमारले ९ लाख रुपैयाँ जम्मा गरे । साढे ७ लाख त भिसा लागेपछि दलाललाई दिए । केही पर्छ कि भनेर मुद्रा साट्ने र नयाँ कपडा किन्ने क्रममा थप पैसा खर्च भयो । पोहोर असोजमा नेपालबाट एयर अरेबियाको जहाजमार्फत रुसतर्फ लागे । यस क्रममा दुबईमा ३७ घण्टा रोकिनुपर्‍यो । उनको भिसा लागेको राहदानीको अवधि सकिन ६ महिना मात्र बाँकी रहेछ । भिसा त्यही चल्ने, तर राहदानी नयाँ बनाउनुपर्ने भयो । दुबईमा ३७ घण्टा रोकिएर नेपाल फर्किए । यहाँ आएर उनै दलालहरूमार्फत २० हजार रुपैयाँ खर्च गरेर नयाँ राहदानी बनाए । २ दिनपछि दुबई हुँदै मस्को पुगे ।

‘रुसको भिजिट भिसा १ महिनाको हुँदोरहेछ । त्यही भिसामा मस्को पुगेँ । त्यहाँ सोमराज न्यौपाने भन्ने व्यक्ति हामीलाई लिन आएका थिए । उनीमार्फत पर्पिङस्थित वाग्नर ग्रुपको ब्यारेकमा लगेर छाडियो’, राजकुमारले भने ।

वाग्नर ग्रुपको क्याम्पमा पसेपछि कार्ड नबन्दासम्म त्यही भिसाले काम गर्‍यो । 

‘पोहोर नोभेम्बरको पहिलो हप्ता वाग्नर ग्रुपको क्याम्पमा पुग्यौं । त्यहाँ १४ दिन बसियो । त्यसपछि ‘स्टेट आर्मी’मा जाने भइयो । गुगल प्लेस्टोरबाट रुसी टु नेपाली भाषा ट्रान्सलेट गर्ने एप डाउनलोड गरेर काम चलाइयो । त्यो समूहमा ३१ जना थियौं । त्यसमध्ये ३ जना नेपाली । त्यसपछि ट्रेनिङमा गइयो’, राजकुमारले भने । 

उनीहरूको तालिम केन्द्र युक्रेनी भूमि लुगान्समा पर्‍यो । त्यो समूहले २२ दिन जंगल, १५ दिन हाउस क्लिनिङ र १० दिन टार्गेट फायरिङको ट्रेनिङ लियो ।

‘ट्रेनिङ एल्लोजोनमै भएको थियो ।  त्यसपछि ग्रीन जोनमा पुर्‍यायो । ग्रीन, रेड हुँदै वार जोनमा पुगियो । त्यो हाम्रो ५१औं पल्टनको पाचौं कम्पनी हो’, राजकुमारले गोली लागेर मलमपट्टी गरेको बायाँ हात मुसार्दै भने, ‘नेपालमा ९ महिनामा सकिने तालिम त्यहाँ एक हप्तामा सकिने रहेछ । एकेफोर्टिसेभेन राइफल र ग्रिनेट डे–नाइट दुबै समयमा हान्न सिकायो । मेसिन गन र लन्चर हान्न सिकायो । रुसी सेनाको कम्ब्याट लगाएपछि २ लाख ९ हजार रुबेल तलब तोकियो । यहाँ (नेपाली रुपैयाँ सरदर)को ३ लाख १० हजार हुने जागिर कन्फर्म भएपछि निकै खुशी भएँ नि !’

तालिम पूरा हुँदासम्म नेपाल छाडेको २ महिना पूरा भइसकेको थियो । तालिम पूरा भएपछि रेजिमेन्ट पापसनाको वारजोनमा पठाइयो । पापसनामा उनीहरू बस्ने बंकर थियो । त्यहाँ उनी १०/१५ दिन बसे । त्यहाँबाट शोलेदारको लडाईं क्षेत्रमा पोस्टिङ भयो । ‘शोलेदारको मेडिकल सपोर्ट टीममा थिएँ । घाइते र लडाईंमा मारिएकाहरूको लास बोक्ने जिम्मा थियो । घाइते बोकेको त गणना हुने कुरा भएन, प्रत्येक दिन कम्तीमा ५/७ वटा लास बोक्नुपर्थ्यो । भर्ती भएपछि यो मेरो पहिलो मिसन थियो । त्यहीबेला ग्रिनेटको छर्रा दाइने कानको छेउमा लाग्यो’, छर्राको सानो खत देखाउँदै राजकुमारले भने ।

null

दोस्रो मिसन

दोस्रो मिसनका क्रममा सुर्खेतका हरि वली उनीसँगै थिए । एकजना रसियन कमान्डर र अर्का रसियन सिपाही पनि साथमा थिए । त्यो मिसन रातको थियो । राजकुमारको टोली युक्रेनको ड्रोन आक्रमण छल्दै बाटो क्लियरका लागि रेकी गर्न गएको थियो ।

‘हामी ४ जना अगाडि हिँड्नुपर्ने भयो । हाम्रो सपोर्टका लागि १० जनाको टुकडी पछाडि थियो । क्याम्पबाट ३ किलोमिटर जति पर पुगेका थियौं । बिहानको करिब ४ बज्न लागेको थियो । एक्कासि चुइँय्य गरेको आवाज आयो । मेरो देब्रे हातमा गोली लागिसकेको रहेछ । रगत भल्भली बग्यो । क्याम्पमा मलाई कुमार भनेर बोलाउँथे । कमान्डरले कुमार भागौं भन्यो । ३ मिटर जति हिँडेको बेला चारैतिरबाट ड्रोनले घेरा हालिसकेको रहेछ । पूरै ड्रोनको आवाज आयो । कान्लामुनि सानो घारी देखेँ । त्यहीँ गएर दुखाई सहेर नचली बसें’, मृत्युको मुखबाट बाँचेर फर्किएको कथा सुनाउँदै राजकुमारले भने ।

ड्रोनले हानेको गोली हरि वलीलाई पनि लाग्यो । रुसी सैनिकको दुईवटै घुँडा ग्रिनेटले उडाइदियो ।  ऊ त्यहीँ ढल्यो । यी दृश्य हेर्दै हातबाट बगेको रगत रोक्ने प्रसायमा राजकुमार लामो–लामो श्वास फेरेर बसे । कमान्डर अगाडि बढ्दै थिए । त्यहीँ माइन पड्किएको ठूलो आवाज आयो । राजकुमारले त्यो भयानक दृश्य सम्झँदै भने– ‘एक्कासि ठूलो आवाज आयो । माइन रहेछ । ऊ त्यहीँ छियाछिया भयो । म नचली घारीमै बसिरहेँ । हरिले धेरै समयसम्म पानी–पानी भन्दै थियो । पानी पनि थिएन । दिनसक्ने अवस्थामा म थिइनँ । बाँच्ने आशले नबोली बसेँ ।’

त्यो दिनभरि युक्रेनको ड्रोन घुमिरह्यो । राति १० बजेतिर अलिक सुनसान भयो । त्यही मौका छोपेर घारीबाट निस्किए राजकुमार । ‘हरि पनि मजस्तै चोट सहेर बसेको होला भन्ने लागेको थियो । जाऔं भन्नका लागि लात्तीले हानेँ । हात दुखेर निहुरिन मिल्दैन्थ्यो । हरिले हलचल गरेन । ला मरेछ हरि ! मनमनै भनेँ । हरि र मेरो पहिल्यै सहमति भएको थियो, दुवै मरे सकियो । यदि एकजना बाँच्यो भने बाँच्नेले घरमा खबर गर्ने अनि क्याम्पमा डकुमेन्ट (परिचयपत्र, कागजात) मिलाउन सहयोग गर्ने । मनमा झल्यास्स त्यही कुरा आयो । बल्ल–बल्ल घुँडा टेकेर उसको छाति छाम्न गएँ, आईडी कार्ड र कागजात खोज्न । तर, उसले छातीमा बाँध्ने सानो ज्याकेट फ्याँकिसकेको रहेछ । त्यहीबेला युक्रेनको सबैभन्दा ठूलो ड्रोन ‘बाबाइगा’ आएर फेरि आक्रमण शुरू गर्‍यो । अब बाँचिन्न भनेर हरि पल्टिएको छेउमै सुतेँ । हल्का छर्राले भेट्यो । गोली लागेन’, राजकुमार भन्दै गए । 

त्यो रात राजकुमारले त्यसैगरी गुजारे । अर्को दिन बिहान हुन लाग्यो । ‘विस्तारै घिस्रेर अलिक पर पुगेँ । यसो हेरेको सुनसान पोस्ट देखेँ । त्यहीँ लुक्न जान्छु भनेर बल्ल–बल्ल उठेर गएँ । पोस्टमा बस्न पाएपछि अलिक मन ढुक्क भयो,’ उनले सुनाए ।

भोक बिर्से पनि पानीको प्यासले प्याक–प्याक बनायो । ‘शरीरमा पानी सकिँदा मुखमा थुक पनि आउँदोरहेनछ’ उनले अनुभव सुनाए ।

‘दाइने हातले बल्ल–बल्ल काखमा बाँधेको पानीको बोतल झिकेर बिर्को खोलेँ । बोतलमा पिसाब फेरेँ । पिसाब सेलाएपछि खाएँ । ओहो ! टर्रो थियो । आँखा चिम्लेर २ पटक पिएँ । शरीरमा केही फुर्ती आएजस्तो भयो’, मुख बिगार्दै राजकुमारले भने, ‘तेस्रो दिनको बिहान भयो । कतैबाट सहयोग पाइएलाजस्तो भएन । मरे मरिन्छ भनेर मान्छे हिँडेको गोरेटो पहिल्याउँदै हिँडे । केही पर पुगेपछि कुकुर भुकेको सुनेँ । अलिक पर पोखरी देखेपछि अब पानी पिउन पाइने भयो भनेर खुशीले त्यतातिर हिँड्दै थिएँ, फेरि गोली बर्सियो । म त युक्रेनको पोस्टतिर पो गइरहेको रहेछु ।’

null

जिन्दगी भगवानको भरोसामा 

यतिबेलासम्म राजकुमारमा बाँच्ने आशा हराइसकेको थियो । जब बिहान हुन्थ्यो, एउटा चराले छेउमा आएर चिरचिर आवज निकाल्थ्यो । ‘त्यो चरा भगवान होला । म जहाँ जान्थें, बिहानपख त्यही चरा आएर चिरचिर आवाज निकाल्थ्यो । मेरो मन आनन्द हुन्थ्यो । हे भगवान ! तिमी यही चरा भएर आऊ अनि मलाई बचाऊ भनेर प्राथना गरिरहेँ । जब चराले चिरचिर गरेर आवाज निकाल्थ्यो, तब आँसु आउँथ्यो,’ गला अवरुद्ध पार्दै उनले भने ।

‘एउटा झाडीको छेउमा रोएर बसेको थिएँ । खसस्स गरेको आवाज आयो । झसंग भएर हेर्दा किरमिरे रंगको सर्प रहेछ । वरैबाट ढोगेँ सर्पलाई र पुकारें– ए भगवान मर्न त मर्छु । तर, एक घुट्को पानी पिएर मर्न पाऊँ । त्यसपछि जे पर्ला–पर्ला भनेर विस्तारै हिडेँ । १० मिनेटजति हिँडेपछि २ बोत्तल पानी भेटेँ । खाना–पानी युद्ध क्षेत्रमा माथिबाट ड्रोनले फ्याँकेको हुन्छ । संयोगले भेटेँ । मलाई भगवानले जुराइदिएजस्तो लाग्यो । त्यसपछि भगवानप्रति झन् विश्वास जाग्यो ।’

पानी पिएपछि जिउ हल्का भयो । ५ मिनेट जति हिँडेपछि बमले ध्वस्त बनाएको एउटा घर भेटियो । बमले उडाएको घरमा गएपछि अलि सुरक्षित भइन्छ भन्ने लागेर उनी त्यहीँ छिरे ।

‘चारवटा फलामका ट्याङ्की थिए । त्यहीँ तल गएर बस्छु भनेको त्यहाँ पुग्दा युक्रेनी सेनाको लास देखेँ । ड्रेस देखेर युक्रेनी भन्ने थाहा भयो । त्यो घरको पोस्टलाई तीन दिनअघि रुसी सेनाले ध्वस्त पारिदिएको रहेछ  । एउटा हातले लास तानेँ । अलिअलि गन्ध आइरहेको थियो । लास पन्छाएर ठाउँ खाली गरी अलि ढुक्कसँग बसेँ,’ उनले भने ।

null

पाचौं दिनको बिहानीपख हुँदै थियो । एउटा समूह त्यही घरको छेउमा आयो । राजकुमारले युक्रेनी आए भन्ठानेर आत्मसमर्पण गर्न हात उठाए । ‘मैले युक्रेनी भनेर आत्मसमर्पणका लागि हात उठाएँ । रुसी सेनाको टीम रहेछ । तर, झट्टै विश्वास गर्ने कुरा भएन । मैले कम्पनीको पासवर्ड भनेपछि उनीहरू मलाई उठाउन आए । उनीहरू दोस्रो बटालियनका रहेछन्’, राजकुमारले भने ।

दोस्रो बटालियनका कमान्डरले मेडिकल सपोर्ट टीमलाई खबर गरिदिए । त्यसपछि उनलाई त्यहीँ पुर्‍याइयो । त्यहाँ पनि १४ दिन बित्यो । ड्रोनले ५०० एमएल पानी, स्नूकर चक्लेट र मेडिकल बक्स झारिदिन्थ्यो । राजकुमार त्यसैको सहारामा बाँचे । एक्लै बिताएको ५ र टीममा बसेको १४ गरी १९ दिन भएको थियो । त्यहाँबाट ‘मुभ’ हुँदै गर्दा फेरि आक्रमण भयो । उनको दाहिने हात समाएर हिँडेका रुसी सैनिक ड्रोन आक्रमणमा परी ढले । अर्का एक क्युवाली नागरिकलाई पनि गोली लाग्यो ।

त्यसपछि उनलाई कमान्डरले डोहोर्‍याए । ‘स्नेपर’ आएर कमान्डरको हातको ३ वटा औंला चुँडाइदियो । उनी रगताम्मे भए । छेउ लाग्न खोज्दाखोज्दै अर्को गोलीले कमान्डरलाई पनि ढाल्यो । उनी एक्लै भए ।

त्यतिकैमा उनले कसैले कुमार भनेर बोलाएको सुने । ‘मलाई सपोर्ट गर्ने मेडिकल टीम त्यहाँ बंकरमा बसेको रहेछ । म घाइते छु भनेर केही समयअघि मर्ने कमान्डरले भनिसकेका रहेछन् । मैले आवाज निकालेपछि तीनजनाले घिसारेर बंकरभित्र छिराए । एक छिनपछि उनीहरू पनि मलाई एक्लै छाडेर अर्को मिसनमा लागे । म के गर्ने ? भनेर प्रश्न गरेँ । अहिले आउँछौं, चुप लागेर बस भने ।’

भोक लागेको थियो । बंकरबाट बाहिर नियाल्दा केही समयअघि ढलेका ३ जनाको शव देखियो । उनीहरूको साथमा केही खानेकुरा थियो कि भनेर झोला खोल्न पुगे । ‘एउटामा एकेफोर्टिसेभेनको गोली, भात, गोरुको मासु र चक्लेट भेटेँ । मासुमा छर्रा लागेको रहेछ । छर्रा लागेको भाग कुहिएको रहेछ । कुहिएको भाग फालेर खाएँ । छर्रा लागेर पानी आधा बोतल भएको रहेछ, त्यो पनि पिएँ । अलिक पर माइनको छेउमा २ बोतल पानी देखेँ । माइनलाई नछोई पानी तानेर लिएँ । एउटा पिएँ । अर्को बोतल अरू आए भने खाइदिन्छन् भनेर लुकाएर राखेँ ।’

राति १ बजेतिर बंकर बाहिरबाट ‘कुमार कुमार’ भन्ने आवाज आयो । ‘बंकर बाहिर निस्कें, बिहान छाडेर गएका साथीहरू लिन अएका रहेछन् । खुशीले उनीहरूकै पछि लागें’, उनले भने ।

null

‘घरमा किरिया बसेछन्’

उता बाँच्ने आशा पलाउँदै थियो, अनि यता किरिया बस्ने सुरसार हुँदै थियो । घाइते भएको २०औं दिनको राति १ बजे उनी डेढ किलोमिटर हिँडे । त्यसपछि चारपाङ्ग्रे टेम्पु चढेर शोलेदार शहरमा आइपुगे । शोलेदार अस्पतालमा एक्सरे गर्दा हातको एउटा हड्डी कामै नलाग्ने भएको रहेछ ।

‘त्यहाँ ३ दिन बसियो । हरि वली मरेको त मैले प्रत्यक्ष देखेरै आएँ । यता क्याम्पमा त्यो समूहमा गएका सबै मरे भन्ने रिपोर्ट पुगेको रहेछ । सोहीअनुसार नेपालमा म मरेको खबर आएछ,’ उनले भने ।

शोलेदार अस्पतालबाट गाडी चढेर लुगान्स शहरको अस्पताल आइपुगे । पूरै एक दिन लाग्यो । घाउ एवं भोकप्यासले दुब्लाएर हड्डी र छाला मात्र बाँकी थियो । अनुहारमा पलाएको दाह्री–जुंगाले उनको रूपरंग केही थिएन । लुगान्स अस्पताल आउँदा मनोज बस्नेत भन्ने साथीलाई उनले चिनिहाले । 

‘मनोजलाई बोलाउन खोज्दा ऊ नहेरी हिँड्यो । म राजकुमार निरौला हुँ भनें । त्यसपछि ऊ झसंग भयो । छेउमा आएर विस्तारै उता नेपालमा नराम्रो (मृत्यु भएको) खबर गएको छ भन्यो । त्यसपछि घरमा खबर गर्नुस् भनेर फोन दियो । मनोजकै ह्वाट्सएपबाट भ्वाइस म्यासेज पठाएँ । बुढीले बुझिएन भनेर म्यासेज गरिन् । फेरि मेरो नम्बरको ह्वाट्सएप डाउनलोड गरेर भिडियो कल गरें । श्रीमती, छोरा सबै सेतै कपडा पहिरिएर किरियापुत्री पो बसेका रहेछन्’, राजकुमारले भने ।

घर फर्किने सकस

लुगान्स अस्पतालबाट हेलिकप्टरमार्फत १ घण्टामा रुसको सीमाभित्र ओरालियो । सीमानजिक आएपछि रुसको सीमकार्ड चल्न थाल्यो । त्यहाँबाट घरमा सहजै कुरा हुन थाल्यो । सीमाबाट ४ दिन, ४ रात रेल यात्रा गरी उनी रुसको छेस्नु अस्पतालमा पुगे । त्यहाँ उनको २९ दिन उपचार भयो । त्यसपछि उनले एक महिनको छुट्टी पाए । त्यसमा १५ दिन थप गर्न पाइने रहेछ । राहदानी क्याम्पमै रहेकाले उनीसँग रुसी सेनाको कार्ड मात्रै थियो । छुट्टीमा हिँडेको सेनालाई कहीँ रोकतोक हुने कुरा भएन । उनी मिलाएर मस्को आए । मस्कोमा १९ दिन रामहरि रिमाल भन्ने एक मनकारी नेपालीको घरमा बसे । त्यहीबेला उनको खातामा घाइते भएबापतको क्षतिपूर्ति रकम पनि आयो ।

null

छुट्टीमै रहेका बेला उनले नेपाल जान पाऊँ भनेर नेपाली दूतावासमा निवेदन दिए । दूतावासले उनलाई नेपाल फर्किनका लागि ‘ट्राभलिङ डकुमेन्ट’ बनाइदियो । त्यही बोकेर उनी भारत हुँदै नेपाल भित्रिए । त्यसपछि माथि उल्लेख गरेअनुसार हिन्दू परम्पराअनुसार श्रीमतीसँग पुनः विवाह गरेर अहिले गोली लागेको हातको उपचार गराउँदैछन् । ‘फेरि रुस फर्किने ?’ मेरो जिज्ञासा भुइँमा खस्न नपाउँदै राजकुमारले भने– ‘अब जान्नँ । क्याम्पले मलाई छुट्टीमा छ भनेको छ । म नेपाल आइसकेँ । गएपछि पेन्सन, सिटिजनशीप सबै पाइन्छ । तर, हात सञ्चो भएपछि फेरि लडाइँमा जानुपर्छ । मृत्युलाई जितेर यता दोस्रो जन्म मनाइसकियो, अब किन जाने ?’

नेपाल आएको २ साता हुन लाग्यो । उनको ज्यान फुर्तिलो भएको छ । हातको ब्यान्डेज खोलेका छैनन् । अग्लो ज्यान, रुसी सेनाको कम्ब्याट, हातहितयारबाट सुसज्जित भएर भूपू पाण्डेको गीतमा घाइते हुनुभन्दा ३ दिनअघि युक्रेनी ड्रोन हेर्दै एउटा टिकटक बनाएका रहेछन् ।

त्यही टिकटक देखाउँदै भने–

जिन्दगी चल्न त चल्या छ,
पीरै पीरमा छ ।

‘जिन्दगी घाइते हुनुभन्दा ३ दिनअघि बनाएको टिकटकजस्तै छ । अब यतै केही गर्नुपर्ला’, उनले भने, ‘यहाँजस्तै सामान्य लडाईं होला भन्ने लागेको थियो । लडाईंमा परिन्छ भन्ने थाहा पाएरै गएको हुँ । तर, त्यहाँ ड्रोनको लडाईंले गर्दा गाह्रो भयो । बाँचेर आइपुगियो । कसैप्रति गुनासो छैन । अब यतै बस्ने हो ।’

हेरौं भिडियो सामग्री पनिः

​ 

 

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...

x