
समुद्रमुनि डुबेको टाइटानिक जहाज हेर्न जाने क्रममा करिब १५ महिना अगाडि भएको टाइटन सबमर्सिबल दुर्घटनाबारे नयाँ तथ्य खुलेको छ ।
दुर्घटनामा पाँच जना चालक दलको मृत्यु भएको थियो । दुर्घटनाबारे भएको विस्तृत अनुसन्धानले प्रारम्भिक अनुमानहरूमा प्रश्न उठाएको छ ।
विज्ञहरूले दुर्घटना हुनुअघि चालक दलले आफ्नो मृत्युको खतरा महसुस गरेको दाबी गरेका थिए । तर, हालै जारी सुनुवाइमा उठेका नयाँ तथ्यहरूले पुरानो दाबीलाई खण्डन गरेका छन् ।
कोस्ट गार्डको मरीन बोर्ड अफ इन्भेस्टिगेसनले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टअनुसार दुर्घटना हुनुअघि चालक दलले कुनै आपतकालीन सन्देश दिएको थिएन अथवा कुनै खतराको संकेत दिएको थिएन ।
विस्तृत अनुसन्धानका क्रममा टाइटन सबमर्सिबल र त्यसलाई नियन्त्रण गरिरहेको अर्को जहाजबीच भएको सञ्चारको विश्लेषण गरिएको थियो । सबमर्सिबलले दुर्घटनाअघि आफ्नो तौल घटाउने प्रक्रिया शुरू गरेको थियो । अनुसन्धानकर्ताले यो सामान्य प्रक्रिया भएको र आपतकालीन नभएको देखाएको छ ।
टाइटन दुर्घटनापछि थुप्रै विज्ञहरूले तौल कम गर्नुलाई संकटको संकेतका रूपमा व्याख्या गरेका थिए । अमेरिकी विज्ञ रबर्ट डी. बालार्डको भनाइ थियो, 'दुर्घटनाको पूर्वाभास पाएपछि चालकदलले तौल कम गरेर पुनः सतहमा पुग्न प्रयास गरेको थियो, तर सफल हुन सकेन ।' तर विस्तृत अनुसन्धानले उनको भनाइ गलत सावित गरेको छ ।
सोमबार भएको सुनुवाइमा टाइटन सबमर्सिबलसँग सम्बन्धित कन्ट्र्याक्टर टिम क्याटरसनले भनेका छन्, 'सबमर्सिबलले केवल ७० पाउन्ड तौल कम गरेको थियो, जुन सतहमा फर्कन पर्याप्त थिएन । चालक दलले समुद्रको तल्लो सतहनजिक नियन्त्रित रूपमा टाइटन चलाउन तौल गरेको थियो, दुर्घटनाको पूर्वाभास भएर होइन ।'
सुनुवाइका क्रममा क्याटरसनले सञ्चारमाध्यमले दुर्घटनाबारे धेरै गलत जानकारी फैलाएको आरोप लगाए । उनका अनुसार चालकदलले निकट मृत्युको खतरा महसुस गरेको थिएन । सुनुवाइ आगामी सेप्टेम्बर २७ सम्म जारी रहनेछ र थप नयाँ जानकारी आउन सक्ने सम्भावना छ ।
दुर्घटनाको प्रारम्भिक समयमा गलत जानकारी प्रवाह भएको स्वीकार गर्दै टाइटानिक चलचित्र निर्माता जेम्स क्यामरूनले भने, 'मैले सार्वजनिक मञ्चमा सुनेका अफवाहलाई पुष्टि नगरी प्रस्तुत गरेकोमा गल्ती भयो ।'
यो अनुसन्धानले अझै केही नयाँ तथ्यहरू खुलासा गर्ने अपेक्षा गरिएको छ, तर हालसम्मको निष्कर्षले चालक दललाई दुर्घटनाको समयमा निकट मृत्युको खतरा थाहा थिएन भन्ने देखाएको छ ।
टाइटानिक जहाजको भग्नावशेष हेर्न अटलान्टिक महासागरको १२ हजार ५०० फीट गहिराइमा जाँदै गर्दा सन् २०२३ को जुन १८ मा टाइटन सबमर्सिबल दुर्घटना भएको थियो ।
दुर्घटनामा सबमर्सिबलका पाइलट स्टकटन रश, फ्रान्सेली खोजकर्ता पउल हेनरी नार्जियोल, पाकिस्तानका व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद र ब्रिटिश अर्बपति हमिश हार्डिंङको मृत्य भएको थियो ।
यो दुर्घटना उत्तर अटलान्टिक महासागरको न्यूफाउन्डल्यान्ड (क्यानडाबाट ४०० माइल टाढा)मा भएको थियो, जहाँ ११२ वर्षअघि दुर्घटना भएको त्यतिबेलाको संसारकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिकको भग्नावशेष छ ।