
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम गर्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् ।'
महासङ्घले आम मानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो ।
महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेको भन्दा फरक रहेको उनको भनाइ छ ।
उनले भने, 'पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौं । कतिपय कानूनहरू बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौं । सरकारलाई दबाब पनि दियौं । हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानून संशोधन भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ ।'