अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनले पराजित गरेको हो । योसँगै अफगानिस्तानले तीन खेलको सिरिज पनि कब्जा गरेको छ ।
अफगानिस्तानले ३ खेलको सिरिज एक खेलअघि नै २-० ले जितेको छ । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर कीर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो सिरिज पनि जितेको छ ।
अफगानिस्तानको जितमा राशिद खान नायक बने । उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड खानले नै पाए । यसबाहेक विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले १०५ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गर्दै अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो । गुरबाजको शतकबाहेक अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतकीय खेले । टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे ।
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो । तर, जम्मा १३४ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए।