चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ ।
‘बालबालिकालाई श्रममा प्रयोग नगरौं, बालश्रममुक्त समाजको निर्माण गरौं’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडा नम्बर ३ थानकोट, वडा नम्बर ५ किसिपिडि, वडा नम्बर ६ महादेवस्थान, वडा नम्बर ७ चेकपोस्ट, वडा नम्बर ८ मातातीर्थ, वडा नम्बर ११ सतुंगल र वडा नम्बर १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन् ।
यसक्रममा शनिबार चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् ।
नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ ।
साथै नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आज आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बालश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको र घोषणा पछिको दिगोपनमा काम गर्ने बताए ।
बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए ।
उनका अनुसार २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् ।
यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौं नम्बरमा चन्द्रागिरि आउने छ ।
कार्यक्रममा उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा १० का वडाध्यक्ष शिवकुमार महर्जन, नगरपालिकाका विषयगत शाखाका प्रमुख, नवज्योति महिला समूह, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले ‘बालश्रममुक्त वडा’पछिको दिगोपनका लागि स्थानीय पालिका, संघसंस्थाको सहकार्य आवश्यक रहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए ।
अवसरमा चन्द्रागिरि –१० का वडाध्यक्ष महर्जनले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पुर्याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दिगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिए ।
चन्द्रागिरि –१० का वडा सदस्य भेषनाथ उपाध्यायले समृद्ध वडा बनाउन विभिन्न काम भइराखेको बताए ।
यस अगाडि गाजाबाजासहितको निस्केको र्याली घोषणासभामा परिणत भएको थियो ।
सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका, १० नम्बर वडा, काठमाडौंलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रतिनिधि, विषयगत समिति, विद्यालय, बाल क्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, संघसंस्था तथा सरोकारवालाहरू बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिबद्ध छौं,’ भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए ।
बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।
यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।