०३ असार २०८३, बुधबार

जुवाखालबाट पक्राउ परेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना धरौटीमा रिहा

असोज ५, २०८१
विराटनगर
जुवाखालबाट पक्राउ परेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना धरौटीमा रिहा

जुवाको खालबाट पक्राउ परेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना धरौटीमा छुटेका छन् । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । 

जुवाको अखडाबाट पक्राउ परेका माझीसहित ९ जनालाई शुक्रवार जनही ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ ।  

माझीसहित सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैँचा १ का ५० वर्षीय जनककुमार मास्के, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुवर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैँचा ३ का प्रताप राई गत शनिवार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय, बेलबारीले पक्राउ परेका माझीसहित ९ जना र अन्य ६ जनालाई फरार प्रतिवादी बनाएर जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको थियो । पक्राउ परेको एक हप्तापछि प्रहरीले अभियोग प्रशासनमा बुझाएको हो । 

गत शनिवार ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर प्रहरीले ९ जना ‘जुवाडे’को साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद गरेको थियो । माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा जुवाको अखडा भत्काएर ‘जुवाडे’लाई नियन्त्रणमा लिएको थियो । ‘नामुद जुवाडे’का रुपमा परिचित उर्लाबारीका अर्जुन तुम्रुक भने जुवाखालबाट फरार भएका थिए । प्रहरीले तुम्रुकसहित ६ जनालाई फरार प्रतिवादी बनाएको हो । 

ग्रामथान ४ कटहरास्थित जुवा खाललाई ‘बाह्रमासे’ भन्ने गरिएको छ । यहाँ जुवा खेल्न मधेश प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबीलगायतका ठाउँबाट आउने गरेको प्रहरीले जनाएको छ । लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्