३० जेठ २०८३, शनिबार
सहकारी ठगी प्रकरण

जीबी, रवि र छवि जोडिएका सहकारीको हिसाबकिताब केलाउँदै सीआईबी

असोज ११, २०८१
काठमाडौं
जीबी, रवि र छवि जोडिएका सहकारीको हिसाबकिताब केलाउँदै सीआईबी

सहकारी ठगी छानबिन संसदीय विशेष समितिको सिफारिसमा अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । 

कास्की प्रहरीलाई अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का इन्स्पेक्टरको कमान्डमा एक टोली खटिएको छ ।

कास्कीको सूर्यदर्शनलगायत ५ सहकारीबाट ६५ करोड रुपैयाँ गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा गएको देखिन्छ । छवि विदेश भाग्न सक्ने आशंकामा कास्की प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर उनलाई पक्राउ गरेको थियो । 

जीबीका तत्कालीन पार्टनर एवं गोरखा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेले अनुसन्धानमा सघाउने सार्वजनिक अभिव्यक्ति दिए पनि आफूलाई पक्राउ नगर्न चेतावनी दिँदै आएका छन् । 

उनले ‘जबरजस्ती गरे सहन सकिँदैन’ भनेका छन् । तर, अब रविको चेतावनीले काम नगर्ने प्रहरीका अनुसन्धान अधिकृतहरू बताउँछन् । 

कास्की पुगेको सीआईबीको टोलीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा जीबी, रवि र छविको संलग्नताबारे केलाउँदै छ । त्यति मात्रै होइन, सहकारी ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा लैजाने गरी अनुसन्धान गरिरहेको छ । त्यसका लागि प्रहरीले प्रमाण जुटाउन शुरू गरेको एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए । 

आफैं साहु, आफैं ऋणी

गोरखा मिडिया नेटवर्कबाट जीबीको व्यक्तिगत नाममा २३ करोड ३९ लाख ९९ हजार ७ सय ८४ रुपैयाँ ऋण तथा पेश्की वितरण भएको देखिन्छ । त्यस्तै, उनका पार्टनर रविका नाममा २ करोड र छविका नाममा ५ करोड ५५ लाख २२ हजार ७ सय १४ रुपैयाँ ऋण तथा पेश्की वितरण भएको देखिन्छ । सूर्यदर्शनलगायत सहकारीबाट शुरूमा गोरखा मिडियामा रकम भित्र्याउने र त्यो रकम जीबी, रवि र छविले पालैपालो ऋण तथा पेश्की लिने गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शनदेखि सुप्रिमसम्मबाट ऋण प्रवाह

सूर्यदर्शन सहकारीबाट जीबीका नाममा ११ करोड १७ लाख ८४ हजार २ सय २५ रुपैयाँ पेश्की लिएको देखिन्छ । त्यस्तै, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाममा ५० लाख रुपैयाँ ऋण गएको देखिन्छ । जीबी अध्यक्ष, छवि सञ्चालक र रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनबाट ऋणबापत १ करोड ३० लाख ८९ हजार रुपैयाँ लिएको देखिन्छ । 

रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट समेत रवि, छवि र जीबीका नाममा ऋण प्रवाह भएको सहकारी छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । 

सुप्रिमबाट जीबीका नाममा ऋण र पेश्की गरी ३ करोड २३ लाख, रविका नाममा ऋणबापत २ करोड र छविका नाममा २ करोड ५० लाख रुपैयाँ रकम ऋणबापत प्रवाह भएको देखिन्छ । 

कालीमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारी लिमिटेडबाट पनि जीबी र छविसँगै गोरखा मिडिया नेटवर्कमा ऋण प्रवाह भएको देखिन्छ । जीबीका नाममा पेश्की र ऋण गरी ८ करोड ९९ लाख १५ हजार ५ सय ५९ रुपैयाँ प्रवाह भएको छ । 

त्यस्तै, छविका नाममा १ करोड १८ लाख २८ हजार १ सय १० रुपैयाँ पेश्कीबापत प्रवाह भएको देखिन्छ । यो सहकारीबाट रविका नाममा पेश्की र ऋण प्रवाह नभएपनि उनी प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा भने २ करोड २८ लाख ९६ हजार ४ सय ८० रुपैयाँ पेश्कीबापत प्रवाह भएको देखिन्छ । स्वर्णलक्ष्मीबाटै दीपेश पुनका नाममा १ करोड ८४ लाख ५८ हजार ६ सय रुपैयाँ ऋण प्रवाह गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

उता चितवनको सहारा सहकारी लिमिटेडबाट समेत गोरखा मिडियाको नाममा १३ करोड ७१ लाख १६ हजार ४ सय ७० रुपैयाँ ४१ पैसा ऋण प्रवाह भएको देखिन्छ । 

यी सँगै विभिन्न सहकारीबाट गोरखा मिडियाको नाममा ग्लोबल आईएमई बैंकको खातामा कूल ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ जम्मा भएको समितिको छानबिनमा खुलेको छ । त्यस्तै, ग्लोबल आईएमईबाट विभिन्न मितिमा ८ करोड २० लाख ९१ हजार ६ सय ४३ रुपैयाँ झिकिएको देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रविले गोरखा मिडियामा रहँदा २ वटा आर्थिक वर्ष २०७८/०७८ र २०७८/०७९ मा गरी १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब बुझेको देखिन्छ ।

अब दायित्व कसले लिने ? 

रविले सामाजिक सञ्जालमार्फत सहकारीबाट गोरखा मिडियामा आएको रकमको आर्थिक र कानूनी दायित्व आफूले व्यहोर्ने भनेर स्वीकारिसकेका छन् । 

अर्कोतिर उनले आफूले ‘क्लिन चीट’ पाएको पनि भनिरहेका छन् । गोरखा मिडिया नेटवर्कमा रहँदा १५ प्रतिशत शेयर लिएका रविले सहकारीबाट गोरखा मिडियामा जम्मा भएको कूल ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँमध्ये १५ प्रतिशत रकमको दायित्व व्यहोर्नुपर्ने सामान्य रूपमा हेर्दा पनि देखिन्छ ।

त्यति मात्रै होइन, शेयर लिने क्रममा कम्पनी रजिस्ट्रारको कार्यालयलाई ढाँटेको विषयमा समेत उनीविरुद्ध कीर्तेमा मुद्दा चल्ने निश्चित रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । 

एनले कीर्तेसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत झेल्नुपर्ने निश्चित रहेको ती अनुसन्धान अधिकृत बताउँछन् । २ वा २ भन्दा बढी व्यक्ति मिलेर गरेको अपराधजन्य क्रियाकलापमा प्रहरीले सहजै संगठितमा मुद्दा लैजान पाउँछ । 

सूर्यदर्शन सहकारीका सञ्चालक समितिका पूर्व सदस्य एवं सफ्टवेयर डेभलपर भविश्वर अर्यालले रविको नाममा ऋण बनाएर १ करोड पेश्की गोरखा मिडियाको नाममा फर्स्यौट भएको बयान समितिमा दिएका छन् । त्यतिमात्रै होइन, ब्याजलाई पूँजीकृत गरी सावाँ ब्याज दुवैलाई गोरखा मिडियाको नाममा कर्जा खडा गरी रविको नामको ऋण चुक्ता गरेको अर्यालले समितिमा बताएका छन् । उनले उक्त कार्य कानूनसम्मत नभएको बताएका छन् । 

जीबी ग्रुप अफ कम्पनीको मिटिङमा रवि, जीबी र दीपेश पुन सँगै रहने गरेको र आफू पनि उक्त मिटिङमा बस्ने गरेको अर्यालले समितिको बयानमा खुलाएका छन् । 

‘सहकारीको रकम अपचलनमा पनि जीबी, रवि र छविको संलग्नता यो बयानबाट पनि पुष्टि हुन्छ,’ कास्की प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘मिटिङ बसेर योजना बनाएर सहकारीको रकम गोरखामा ल्याउन यी तीनजनाको संलग्नता पुष्टिका लागि थप आधार खोज्दैछौं ।’ 

सूर्यदर्शनपछि सुप्रिम जाने सीआईबीको तयारी

प्रारम्भिकरूपमा सूर्यदर्शन सहकारीमा अनुसन्धानका लागि सहयोग गर्न पुगेको सीआईबीको प्रहरी टोली बुटवलस्थित सुप्रिम सहकारी जाने तयारीमा छ । 

सुप्रिमबाट समेत जीबी, रवि र छविकै नाममा ऋण प्रवाह भएको देखिएपछि उक्त ऋण प्रवाह हुँदा पेश भएका कागजात र अन्य प्रमाणहरू खोज्ने तयारी भइरहेको सीआईबीले जनाएको छ । 

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले गोरखा मिडिया नेटवर्कसँगै जीबी, रवि र छवि जोडिएका सबै सहकारीको अनुसन्धान भइरहेका प्रहरी कार्यालयमा सीआईबी पुगेर शुरूदेखि नै अनुसन्धान थाल्ने बताए ।

उनले लोकान्तरसँग भने, ‘अहिले कास्कीस्थित जिल्ला प्रहरी कार्यालयमा सीआईबी टोली पुगेको छ । अरू प्रहरी कार्यालयमा पनि सीआईबी पठाएर विस्तृत अनुसन्धान अघि बढाउन सीआईबी प्रमुख एआईजी दीपक थापालाई भनिसकेको छु ।’

उनले सहकारीको रकम अपचलन गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउने र पीडितले न्याय पाउने गरी काम गर्न सीआईबीलाई निर्देशन दिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्