२५ जेठ २०८३, सोमबार

भुक्तानी नपाएपछि रुपन्देहीका निर्माण व्यवसायी आन्दोलित

लुम्बिनी विकास कोषको आन्तरिक असक्षमताको चपेटमा परेको आरोप
असोज ११, २०८१
बुटवल
भुक्तानी नपाएपछि रुपन्देहीका निर्माण व्यवसायी आन्दोलित

लुम्बिनी विकास कोषले भुक्तानी दिनुपर्ने झण्डै एक वर्षदेखिकाे रकम नपाएपछि रुपन्देहीका निर्माण व्यवसायी आन्दोलित भएका छन् । कोषका लागि काम गरेका चारवटा निर्माण व्यवसायीले झण्डै ५० करोड रूपैयाँ भुक्तानी पाउन बाँकी छ । भुक्तानी दिनुपर्ने रकम कोषको खातामा आएको एक महिना हुन लाग्दासमेत नदिएपछि लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । 

लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले शुक्रवारदेखि रिले अनसन शुरू गरिएको बताइन् । ‘शुक्रवारदेखि हामी रिले अनसनमा छौं,’ उनले भनिन्, ‘१३ गते विकास कोषको ५ नम्बर गेटमा रिले अनसन बस्छौं, १५ गतेसम्म पनि भुक्तानी नभए लुम्बिनीका सम्पूर्ण गेटमा तालाबन्दी गर्ने हाम्रो कार्यक्रम छ ।’ 

लुम्बिनी विकास कोषको सौन्दर्यकरण, बाटो, नाली तथा पुलहरू निर्माणका लागि लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा अपेक्स कमल जीत जेभी, रमन गजुरमुखी राम जानकी देवी र खानी अर्घाखाँची बाबुल जेभीले काम गरेका छन् । 

‘राज्यसँग जोडिएको विषयमा भुक्तानीको कुरा उठाउँदा विकास कोषबाट हाम्रा मागलाई गैरव्यावसायिक विषयजस्तो बनाइयो,’ संघकी अध्यक्ष भुसालले भनिन्, ‘लामो समयसम्म पनि पेमेन्ट नभएपछि बाध्य भएर आन्दोलित हुनु परेको हो ।’ लुम्बिनी गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत रहेका निर्माण व्यवसायीसँग विकास कोषका कर्मचारी र पदाधिकारीबीच गत मंगलवार धकेलाधकेलसमेत हुन पुगेको थियो । कामको भुक्तानी नपाउँदा आफूहरू मारमा परेको निर्माण व्यवसायीहरूले बताउँदै आएका छन् । 

निर्माण व्यवसायी देवराज गौतमले लुम्बिनीमा कर्मचारीको बेतिथि, पदाधिकारीबीच समन्वय अभावले मन्त्रालयबाट आएको रकम व्यवसायीले पाउन नसकेको बताए । ‘कर्मचारीको जुंगाको लडाइँ लुम्बिनीमा रहेछ,’ गौतमले भने, ‘चल्ती खातामा पैसा आएको २५ दिनसम्म पदाधिकारीलाई जानकारी दिइएको रहेनछ । आन्तरिक लडाइँको चपेटमा निर्माण व्यवसायी पर्न पुगे ।’ राष्ट्रिय गौरवको परियोजनामा भुक्तानी सरलीकरण गर्न सबै क्षेत्रबाट लुम्बिनीमा दबाब छ । तर, पनि त्यसको सुनुवाइ कोषबाट हुन सकेको छैन । 

लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष जवीन कक्षपतिले काम गरेको भुक्तानी नपाउँदा व्यवसायी ठूलो मारमा परेको बताए । खातामा आएको पैसा नदिनु कतै कमिसनको खेल त होइन ? भन्दै कक्षपतिले विकास कोषलाई प्रश्न गरे ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीमा काम गरेका व्यवसायीहरूले पाउनुपर्ने रकम नपाइ धर्ना-आन्दोलन गर्नुपर्ने अवस्था आउनु विश्वजगतमा नराम्रो सन्देश जाने भन्दै छिटो भुक्तानी दिन विकास कोषलाई अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्