
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।
अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । बितेको २४ घण्टामा देशका १०७ भन्दा बढी जलमापन स्टेशनमा खतराको तहसम्म वर्षा भएको रेकर्ड भएको छ । वर्षाका कारण काठमाडौँसहित विभिन्न स्थानमा डुबानको समस्या भएको छ भने हवाइ उडानका साथै मुख्य राजमार्गहरु समेत प्रभावित बनेका छन् ।
पहिरोका घटनामा ९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार शुक्रबार अपराह्नदेखि शनिबार बिहानसम्म पहिरोको घटनामा ९ जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका छन् । धनकुटा, काठमाडौँ, ललितपुर, काभ्रे लगायतका स्थानमा पहिरो जाँदा मानवीय क्षति भएको हो ।
००००
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।
००००
नेकपा एमालेले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकैसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो ।
००००
नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन २०८०) को खारेजी माग सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
बारका महासचिव अञ्जिता खनालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बारका मागलाई सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उक्त निर्णयप्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरिएको छ । बारको विरोधका बीच शुक्रबार परिषद्ले २ न्यायाधीश नियुक्त गरेको थियो ।
००००
सर्वोच्च अदालतले करिब ६० किलोग्राम सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
शुक्रवार न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले प्रतिवादी बनाइएकामध्ये ७ जना आरोपितको निवेदनमा अन्तिम सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश गरेको हो ।
००००
सहकारी ठगी छानबिन संसदीय विशेष समितिको सिफारिसमा अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरीलाई अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का इन्स्पेक्टरको कमान्डमा एक टोली खटिएको छ ।
कास्कीको सूर्यदर्शनलगायत ५ सहकारीबाट ६५ करोड रुपैयाँ गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा गएको देखिन्छ । छवि विदेश भाग्न सक्ने आशंकामा कास्की प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर उनलाई पक्राउ गरेको थियो ।
००००
काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत दशैं, तिहार र छठलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी वसन्त राजैरेले सुरक्षा जाँच सँगै गस्ती बढाइने जानकारी दिए ।
००००
सहकारी ठगीका फरार अभियुक्त देवकुमार नेपालीलाई भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन् ।
इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् ।
००००
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन भएको छ । यसअघि असोज १३ गते दिउँसो २ बजे बस्ने तय भएको कांग्रेस बैठक सोही दिन बिहान ९ बजे बस्ने भएको हो ।