११ साउन २०८३, सोमबार
बाढीको वितण्डा

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

असोज १२, २०८१
काठमाडौं
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्याएको छ । 

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रवार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुला गरिएको छ । 

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । 

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरूमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेकोे बताए । 

गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ । 

नियन्त्रण कक्षमा रहेका दुईजना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।  

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद– बिक्री सम्झौताबामोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युतगृह बन्द गर्नुपर्ने छ । 

शुक्रवार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्णरुपमा बन्द गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्