
सरकारले आइतवार (असोज १३ गते)सम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गृह मन्त्रालयले शनिवार साँझ विज्ञप्ति निकालेर जल तथा मौसम विभागले आइतवारसम्म भारी वर्षाको चेतावनी दिएको जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरेको हो ।
विपद्का घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
आश्विन १३ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान भएको हुनाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जोखिमयुक्त अवस्थामा रहेकालाई सुरक्षित स्थानमा जान, सम्भावित जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग र समन्वय गर्न, विपद्को घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध छ ।’
बिहीवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् ।
त्यसैगरी सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरूमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडाैं उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको सक्रियतामा जोखिममा रहेका मानिसहरूको उद्धार कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरूमा क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ,’ प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाइका बावजुद काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसको उद्धार कार्य भइरहेको छ ।’
केन्द्रीय सुरक्षा समितिको बैठक बसी गृहमन्त्री रमेश लेखकबाट विपदमा परेकाहरूको तत्काल खोज तथा उद्धार गर्न र राहत कार्यमा उच्च प्राथमिकताका साथ परिचालन हुन सबै सुरक्षा निकायहरूलाई निर्देशन भएको गृहका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

