०२ साउन २०८३, शनिबार

आज पितृपक्ष समापन हुँदै, भोलिदेखि बडा दशैं शुरू हुने

असोज १६, २०८१
काठमाडौं
आज पितृपक्ष समापन हुँदै, भोलिदेखि बडा दशैं शुरू हुने

आज असोज कृष्ण औँसी अर्थात्  पितृपक्षको अन्तिम दिन । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको आज विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिनगरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । 

आज जलाशयमा गएर तर्पण दिने चलन छ । धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरूमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन् । आज काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ । 


दशैं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होसभन्ने गरिने कामनाजस्तै दशैं, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्डका शिक्षक शोभाकान्त झा बताउँछन् । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक १ कार्तिककृष्ण औँसीमा श्राद्ध गर्नसक्ने धर्मसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । 

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।

पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दशैं शुरू हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्