
क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले हराएको हो ।
नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो ।
ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । नेपाललाई जिताउन कप्तान रोहित पौडेल ब्याटिङ र बलिङ दुवैमा चम्किए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए ।
ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।