
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् । उनले शुक्रवार कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ स्थित ढुंगेअड्डामा नयाँ कार्यालयको शिलान्यास गरेका हुन् ।
मदन भण्डारी स्मृति भवनको नाममा रहेको उक्त जग्गामा स्थायी रुपमै नयाँ कार्यालय बनाउन लागिएको एमालेले जनाएको छ । बिहीवार बसेको एमालेको सचिवालय बैठकले उक्त स्थानमा पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो ।
कलंकी तीनथाना चोकबाट नजिकै रहेको उक्त स्थानमा एमालेको १० रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा छ । २०७२ को भूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमालेको केन्द्रीय कार्यालय धुम्बाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा रहेको थियो ।
यसै महिना आएको बाढीले च्यासलको पार्टी कार्यालयसमेत डुबानमा परेको थियो । यसले गर्दा नयाँ विकल्प खोज्नु परेको हो ।
एमालेका आठ लाखभन्दा बढी पार्टी सदस्यहरू छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खेलेर प्रत्येक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले रकम पनि उठाइएको थियो ।
गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।