०७ साउन २०८३, बिहीबार
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र सिकार

सिकारीको पासोमा चौँरी र भेडाबाख्रा : अधिकांश मरे, बाँचेका भालु र चितुवाको आहार

कात्तिक १, २०८१
काठमाडौं
सिकारीको पासोमा चौँरी र भेडाबाख्रा : अधिकांश मरे, बाँचेका भालु र चितुवाको आहार

गत जेठ १७ गते सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रबाट पूर्वी भेग (जुगल गाउँपालिका वडा नम्बर २ को लेकमा)मा पर्ने ‘ङम्सुपा खर्क’मा तीन वटा चौरीहरू पासोमा परे । पासोमा परेका सार्की सेर्पाका तीन वटा चौँरीमध्ये दुई वटा बचे । एउटा भने जङ्गली भालुले खाइदियो । 

जेठकै पहिलो साता जुगल गाउँपालिका–२ को लिती गाउँमा बस्दै आएका साङबहादुर दोङका पाँच वटा बाख्राहरू पासोमा परेर मरेका थिए । पाँच पोखरीकै उत्तरी भेगमा पर्ने ‘नुर्पु चान्चाले खर्क’मा पासोमा परी मरेको अवस्थामा बाख्राहरू भेटिएको दोङले बताए । 

असार २ गते जुगल गाउँपालिका–१ सेलाङका जारे तामाङका ५ वडा भेडाहरू पासोमा परेका थिए । पाँच पोखरीबाट उत्तरी भेगमा पर्ने तासुङ खर्कमा पासोमा परेका ५ वटा भेडाहरूलाई गोठालाहरूले देखेर फुकाइ दिएका थिए । उक्त दिन एउटा भेडा पासोमै परेर मर्‍यो भने चार वटा बाँचेको उनले बताए ।  

त्यस्तै, असार ५ गते धन बहादुरका ७ वटा बाख्राहरू पासोमा परेका थिए । पाँच पोखरीबाट उत्तरी भेगमा पर्ने ‘गेङ खर्क’ नजिक पासोमा परेका ७ वटै बाख्राहरू बँचे। 

गत भदौ ४ गते जुगल गाउँपालिका–२ को लेक ‘खोलाखर्क’मा १० वटा बाख्राहरू पासोमा परेको भेटिएका थिए । जुगल गाउँपालिकाको दिपु गाउँमा बस्ने पेम्बी सेर्पाका अनुसार उनका पासोमा परेका १० वटै बाख्राहरू भालुले खाइदिएको थियो । 

null

माथि उल्लेखित घट्नाहरू सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रका हुन् । नवर(बाख्राजस्तै जनावर), चितुवा, हाब्रे (रेड पान्डा), कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लङ्गुरलगायत वन्यजन्तु रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा सिकारीहरूले पासो थापेर वन्यजन्तुहरूको सिकार गर्दै आएका छन् । वन्यजन्तुको सिकारका लागि थापिएका पासोमा स्थानीयले पालेका चौँरी, भेडा, बाख्रालगायत परेर मर्ने गरेको उनीहरू बताउँछन् । 

वन्यजन्तुहरूको सिकारका लागि थापिएका पासोहरूमा स्थानीयका बाख्रा, भेडा, चौँरीलगायत जनावरहरू पर्ने र जङ्गली भालुहरूले खाने गरेको स्थानीयको भनाइ छ । 

वन्यजन्तुका लागि थापिएका पासोमा स्थानीयका चौँरी गाई, भेडा तथा बाख्राहरू पर्ने गरेको सिन्धुपाल्चोक हिमालयन याक चौँरी कृषक संघका अध्यक्ष सार्की शेर्पाले बताए । उनका अनुसार निकुञ्जभित्र ठाउँ ठाउँमा सिकारीहरूले पासा राख्ने गरेका छन् । 

‘पछिल्लो समय स्थानीयका पशुहरू सिकारीको पासोमा पर्ने गरेको देखियो । जुन पहिलेदेखि नै हुँदै आएको कुरा हो’, उनले भने, ‘अहिले त अधिकांश स्थानहरूमा पासाहरू भेटिने गरेका छन् । स्थानीयका बाख्रा, भेडा चौँरी पासोमा परी मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्जमा पनि खबर गरेकै हो । सिकारका लागि पासाहरू थाप्ने कम भएको छैन।’

सिकारीहरूले थापेको पासोमा पर्ने पशुलाई जङ्गली भालुले खाने गरेको र कुनै कुनै मात्रै बच्ने उनको भनाइ छ । ‘यार्सागुम्बा टिप्ने मान्छेले कति ठाउँमा पासोमा परेका पशुहरू बचाएका छन् । सिकारीहरूले भेटाएमा बाख्राहरू लुकाइदिने गर्दछन् । जङ्गली जनावरहरूले खाएमा हड्डी तथा केही शरीरका अङ्गहरू भेटिने गर्दछन् । जसबाट जनावरले खाएको भन्ने कुरा थाहा पाउन सकिन्छ ।’

पासोका साथै कतिपय स्थानहरूमा भरुवा बन्दुक पनि चल्ने गरेको शेर्पाले बताए । भरुवा बन्दुकहरू पनि सिकारीहरूले बोक्दै आएका छन् । कस्तुरीको बिना, रेड पान्डाको छाला बेच्न निकुञ्जमा अवैध सिकार गरिने गरेको छ । कतिपय जनावरहरूको मासु मात्रै खान पनि सिकार गर्ने गरिन्छ । 

हिमाली क्षेत्रमा याक चौँरीको संख्या बढ्नु पर्नेमा घट्दै गएको अध्यक्ष शेर्पाले बताए । पछिल्लो दुई/तीन वर्षमा करिब २० प्रतिशत याक तथा चौँरीको संख्या घटेको छ । 

उनका अनुसार याकमा हुने समस्याले गर्दा चौँरीहरूको संख्या घटेको हो । २५ सय मिटरभन्दा तल याकहरू गएमा स्वतः बिरामी हुने र रोगहरू लग्दै समस्या देखिने गर्दछ । 

याकबाटै ७ किसिमका चौँरीहरू बन्ने गर्दछन् । याकबाट डिम्जु चौँरी, उराङ चौँरी, भोम्जु चौँरी, जर्सी चौँरी(जर्सिलाई याक लगाएर हुने), लुरी गाईको चौँरी र उराङ चौँरी(लोकल गनउलाई चौँरी लगाएर हुने) गरी सात प्रकारका चौँरीहरू हुने गर्दछन् । 

सिकारीको पासोमा परेर भेडाबाख्रा मरेकोबारे स्थानीय प्रशासन र सरकार भने बेखरबरजस्तै छ । माथिल्लो भेगमा बसोबास गर्ने स्थानीय वर्षमा एक/दुई पटक मात्रै स्थानीय तहसम्म आउने भएकोले यस विषयमा जानकारी नभएको जुगल गाउँपालिका वडा नम्बर २ का वडा चन्द्रकाजी लामाले अध्यक्षले बताए । तर, विगतमा जङ्गली जनावरको सिकारका लागि पासो थाप्ने गरेकोबारे आफूले सुनेको उनले बताए । 

 ‘माथिल्लो भेगमा बस्ने स्थानीय वर्षमा दुई/चार पटक मात्रै तल झर्ने गर्दछन् । त्यसैले सिकारीले थापेका पासोहरूको विषयमा हामीसम्म जानकारी आएको छैन, उनले भने, ‘निकुञ्ज क्षेत्रमा सिकार गर्ने कुराहरू विगतमा सुनिँदै आएको हो । जुन केही क्षेत्रमा अझै हुनसक्छ ।’

स्थानीयले यसबारे निकुञ्ज प्रशासनलाई पनि जानकारी नगराएका होइनन् । तर, जानकारी गराउँदा निकुञ्ज प्रशासनले कुनै कारबाही अगाडि नबढाएको स्थानीय बताउँछन् ।

कमेन्ट गर्नुहोस्