
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने कुनै सम्भावना नरहेको उनले प्रस्ट्याए ।
आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्यअनुरूप कार्य गर्न नसकेको टिप्पणी गरे ।
‘यो सरकार ढल्दैन चल्छ । तर सरकार, सरकारजस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले भने, ‘गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’
कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे ।
उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए । ‘सरकार बनेको धेरै भएको छैन । तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रूपमा काम हुनुपर्ने थियो त्यसअनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैन जस्तो लाग्दछ,’ उनले भने ।
नेपाली जनताले धेरै चिज नखोजेको तर्क गर्दै उनले भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन् । सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ ।’
सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको उनले बताए । ‘सुशासनबिना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्दछ,’ उनले भने ।
कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । ‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रूपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् ।’
सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए ।