
प्रधानमन्त्री केपी ओलीले विपक्षी दलहरूले उठाएका ४ प्रश्नको जवाफ दिएका छन् । विपक्षी नेकपा (माओवादी केन्द्र)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ओलीले उनीहरूलाई उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश, रवि लामिछानेको गिरफ्तारी र प्राकृतिक विपत्तिपछि सरकारले गरेका कामको विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउर पार्टी फुटाउने कुनै योजना नरहेको प्रष्ट्याएका हुन्।
‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएका साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ,’ ओलीको जवाफबारे जानकारी गराउँदै रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’
सोमबार नै दल विभाजनको लागि कमजोर प्रावधान राखेर अध्यादेश ल्याउने तयारी गरिएको चर्चा चलेको थियो । तर, मन्त्रिपरिषद् बैठक नै स्थगित हुन पुग्यो । दल विभाजनसम्बन्धी अध्यादेशमा प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेसमा पनि समान मत बन्न नसकेपछि प्रधानमन्त्री ओली पछाडि हटेका थिए ।
रास्वपा अध्यक्ष लामिछानेलाई सहकारी प्रकरणमा गिरफ्तारी गर्नु प्रतिशोध हो भनेर विपक्षले उठाएको प्रश्नमा प्रधानमन्त्रीले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको दायित्व भएको बताएका छन् ।
‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुरभाव छैन । मलाई केही लिनु/दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ,’ ओलीले भनेका थिए, ‘अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’
यसैमा विपक्षीले रवि पक्रनु पूर्वाग्रह र तानाशाही प्रवृत्ति होइन भन्दै उठाएको प्रश्नको जवाफ पनि ओलीले दिएका छन् । ‘अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन,’ ओलीले भनेका छन्, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।’
ओलीले असोज दोस्रो साता आएको बाढी र विपत्तिमा सरकारको कमजोरीबारे विपक्षीले उठाएको प्रश्नको पनि सामना गरेका छन् ।
‘मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको छ,’ ओलीले भनेका छन्, ‘यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।’