
सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउगरी रूपन्देही ल्याइएका गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान शुरू भएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोग आरोपमा बुटवल ल्याइएका जोशीको जिल्ला सहकारी वकिलको कार्यालय, भैरहवामा आजदेखि जोशीको बयान शुरू भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले बयान लिइरहेका छन् । बयान लिइरहेको स्थानमा प्रहरीले कडा सुरक्षा व्यवस्था गराएको छ ।
जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले ठगी गर्नेलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले नागरिकको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको बताए ।

सरकारी वकिलको कार्यालयअगाडि प्रदर्शन गर्न प्रहरीले रोक लगाएपछि अदालत अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।
न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग आफूहरूको प्रमुख माग रहेको उनले बताए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ ।
सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।