०२ साउन २०८३, शनिबार

रवि लामिछाने पक्राउ प्रकरण : उच्छृङ्खल गतिविधि नगर्न रास्वपालाई कांग्रेसले गरायो सचेत

कात्तिक ७, २०८१
काठमाडौं
रवि लामिछाने पक्राउ प्रकरण : उच्छृङ्खल गतिविधि नगर्न रास्वपालाई कांग्रेसले गरायो सचेत

नेपाली कांग्रेसको सूचना तथा प्रचार विभागले सहकारी ठगी प्रकरणको अनुसन्धानमा उच्छृङ्खल गतिविधि नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सचेत गराएको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलन गरेर निष्पक्ष, अनुसन्धान र न्यायिक निरुपणको प्रक्रियालाई बाधा नपुर्‍याउन सचेत गराएका हुन् ।

‘सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गर्ने गतिविधि भइरहेकाले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्‌भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधिप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।’

संयमित भएर कानूनी प्रक्रियालाई सघाउन पनि उनले आग्रह गरेका छन् ।

‘प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं ।’

नागरिकहरू सहकारी ठगिएपछि अनुसन्धान अगाडि बढेको भन्दै कांग्रेसले रवि लामिछाने पनि तानिएको बताएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्