
काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोग गरेमा कारबाही हुने जनाएको छ ।
महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको छ ।
सूचनामा महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।