
देशभरका अस्पतालमा सेवाग्राहीले दुई सिफ्टमा ओपीडीको सेवा पाउने भएका छन् । एकपटक मात्रै ओपिडी हुँदा बिहानैदेखि घण्टौं लाइनमा बस्नुपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका सबै संघीय अस्पतालमा दुई सिफ्टको ओपीडी सेवा शुरू गरेका हुन् ।
मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा उनले तत्कालीन सेवा सुधारका क्रममा एकैदिन दुई सिफ्टमा ओपीडी सेवा शुरूवात भइसकेको जानकारी दिए ।
‘आम नागरिकले ब्यहोर्नु परेको आपतकालीन बिपत्तिको यथाशक्य सम्बोधन गर्दै यस १०० दिनमा हामीले तत्कालीन सेवा सुधारका काममा बढी ध्यान दिएका छौँ भने केही दीर्घकालीन महत्वका काम अगाडि बढाएका छाैँ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा लामो लाइनको सास्तीलाई मध्यनजर गर्दै देशभरका सबै संघीय अस्पतालमा दुई सिफ्ट ओपीडी सेवाको शुरूवात भएको छ ।’ उनले संघीय अस्पतालहरूमा टोकन प्रणाली विस्तार भएको जानकारी पनि दिए ।
एमडी र एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरूलाई प्रादेशिक अस्पतालमा कामकाजमा लगाउने व्यवस्था पनि मन्त्रालयले मिलाएको छ ।
त्यस्तै उपचारात्मक सेवा विस्तार र विकासअन्तर्गत क्यान्सर रोगको सेवा विस्तार प्रयोगशालासहितको सेवालाई मन्त्रालयले जोड दिएको छ । सातवटै प्रदेशमा क्यान्सर रोगकोे उपचार सेवा विस्तार गर्ने, भक्तपुर क्यान्सर अस्पताल र भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरी सबै किसिमका परीक्षण स्वदेशमा नै सम्भव गराइ परीक्षणका लागि देशबाहिर नमूना पठाउने अवस्थाको अन्त्य गर्न कार्य प्रारम्भ गरिएको पनि मन्त्रालयले जनाएको छ ।
हरेक प्रदेशमा कम्तीमा १ अस्पतालबाट मुटुरोग उपचारको सेवा शुरू गर्ने योजनाबमोजिम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा मधेश र गण्डकी प्रदेशमा सेवा शुरू भएको मन्त्रालयले जनाएको छ । देशभरमा ३०० वटा सिनेमा हलमा क्यान्सरसम्बन्धी जनचेनतामूलक भिडियो सन्देश प्रसारण गरिएको तथा ३०४ वटा स्थानीय तहमा आयुर्वेद सेवामार्फत नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै ८ हजार ६७८ महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको, स्तन क्यान्सर रोकथामसम्बन्धी १५ भाषामा सामग्री उत्पादन गरी विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको पनि मन्त्रालयले जनाएको छ ।
चिकित्सा शिक्षा अध्ययनअन्तर्गत एमबीबीएस अध्यापनलाई विस्तार गरिएको मन्त्रालयले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा चालु आर्थिक वर्षदेखि शुरू हुनेगरी ५०–५० सिट निर्धारण भई एमबीबीएसको अध्ययन अध्यापनको शुरूवात भएको मन्त्रालयले जनाएको छ । न्याम्सअन्तर्गत चिकित्सा शिक्षा, नर्सिङ र एलाइड साइन्सतर्फ ४०० पीजी सिटको फ्याकल्टी थप गरी स्नातकोत्तर विधामा अध्ययनका लागि उल्लेखनीय सिट वृद्धि भएको बताइएको छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट प्रत्यारोपणसम्बन्धी रिनल ट्रान्सप्लान्ट मेडिसिन र सर्जरी विधामा फेलोसिप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालमा १५ शैय्याको जलन उपचार वार्ड पुनः सञ्चालन गरी सघन जलन उपचार सेवा निःशुल्क शुरूवात भएको मन्त्रालयले जनाएको छ ।
सातै प्रदेशबाट हुनेगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगञ्जको नारायणी अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकका लागि कस्मेटिकबाहेक सघन जलन उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको छ ।
गत असोज ११ र १२ गते भएको बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्नुका साथै घाइते तथा मृतक परिवार सदस्यहरूको निःशुल्क स्वास्थ्य बीमा गरिएको पनि मन्त्रालयले जनाएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने प्रावधान कात्तिक १५ बाट लागू हुने मन्त्रालयको भनाइ छ । साथै राष्ट्रिय खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिएको छ । खेलकुद मन्त्रालय र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तारसहितको पुनर्संरचनाको प्रारुप तयार गर्न डा शम्भु आचार्यको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
नीतिगत, कानूनी सुधार र पुनरावलोकनअन्तर्गत औषधि ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐनमा समय सापेक्षित संशोधनका लागि मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउनुपूर्व सम्बन्धित निकायमा राय र सहमतिका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवं प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ । संघीय अस्पतालका उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भई अस्पतालका उपकरणको मर्मत कार्य शुरू भएको छ । शहीद गंगालाल हृदय केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार भइरहेको मन्त्रालयले जनाएको छ ।
सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनको साख जोगाउँदै त्यहाँबाट हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको मन्त्री पौडेलले बताए । साथै ४० किसिमका औषधिको उत्पादन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच औषधिको मूल्य नीति सुझाव समिति गठन पनि गरिएको छ ।