
अध्यक्ष राजेन्द्र लिङ्देनसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू एकहप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कार्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कार्तिक ७ गते सुर्खेतको बाबियाचौर हुँदै बिहीवार दैलेखको दुल्लुमा सभा सम्पन्न भएको छ ।
यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी भएका स्थानहरूमा साना–ठूला सभाहरू पनि भइरहेको राप्रपाले जनाएको छ ।
राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेन्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्योल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासँग संवाद गर्न कर्णाली यात्रा गरिएको जनाएको छ ।
तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियानअन्तर्गत कर्णाली यात्रा गरिएको नेताहरूले बताएका छन् ।

कर्णाली यात्राका क्रममा कार्तिक ९ गते कालिकोटको सदरमुकाम मान्ममा, कार्तिक १० गते जुम्लाको गोठिजिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरू हुनेछन् ।
अध्यक्ष लिङ्देनका साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही, सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत सहभागी छन् ।
आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपाका नेताहरूले सरकार, कांग्रेस, एमाले र माओवादीका कारण देशले दुरावस्थाका भोग्नु परिरहेको आरोप लगाइरहेका छन् । नेताहरूले कुनै पक्षलाई पनि निषेध नगर्ने गरी राजासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्ने विषयमा जोड दिएको पार्टीले जनाएको छ ।