१० साउन २०८३, आइतबार

हिरासतमा रहेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाद्वारा थप आन्दोलनको घोषणा

कात्तिक ११, २०८१
काठमाडौं
हिरासतमा रहेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाद्वारा थप आन्दोलनको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केही महत्वपूर्ण निर्णय गर्दै लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको छ । राजनीतिक प्रतिशोध त्यागी तत्काल उहाँको रिहाइ गर्न सरकारसँग माग गर्दछौं ।’

पार्टीले राजनीतिक प्रतिशोध, भ्रष्टाचार, र बेथितिविरुद्ध तथा सहकारीपीडितको ८८ अर्ब रकम फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरिने रास्वपाले जनाएको छ । साथै, राजनीतिक संवादका लागि अर्का उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरी सातै प्रदेशमा आन्दोलनका लागि प्रदेश समिति पनि गठन गरिनेछ ।

बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ । साथै, पार्टीका स्थगित जिल्ला भेला र सांगठनिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायका लागि हाम्रो अभियान कुनै हालतमा रोकिँदैन, हामी जनताको पक्षमा सधैँ खडा रहनेछौं ।’

null


 

salt training

कमेन्ट गर्नुहोस्