
आज (आइतवार) कोशी र मधेश प्रदेशसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै दिउँसो कोशी र बागमती लगायत देशका पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा नै रहने जनाइएको छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
‘देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ,’ सूचनामा भनिएको छ, ‘कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’
हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको पाइएको छ ।