०५ साउन २०८३, मंगलबार
सुध्रिने होइन, बिग्रिने जोखिम

बालसुधार गृहमा वयस्कको हालिमुहाली : सानामाथि शोषण, भित्रै पुर्‍याइन्छ लागुऔषध

१८ वर्ष माथिकालाई कारागारमै राख्ने गरी ऐन संशोधनको गृहकार्य, पढ्न खोज्नेलाई पनि छुट्टै राखिने
कात्तिक ११, २०८१
काठमाडौं
बालसुधार गृहमा वयस्कको हालिमुहाली : सानामाथि शोषण, भित्रै पुर्‍याइन्छ लागुऔषध

बालसुधार गृह सानोठिमी भक्तपुरमा अहिले २५६ जना थुनुवा कैदीबन्दी रहेकोमा आधाभन्दा बढी १८ वर्ष माथिका छन् ।

बालसुधार गृह भक्तपुरका सामाजिक कार्यकर्ता प्रविन शिलाकारका अनुसार २४ देखि २५ वर्ष उमेरसम्मका ६० जना कैदी छन् । उक्त सुधार गृहको क्षमता ६० जना मात्र राख्ने हो ।

'अदालतबाट कसूर ठहर भई सजाय निर्धारण हुँदा १८ वर्षमुनिकै हुन्छन्, तर सजाय काट्ने क्रममा वयस्क भएपनि बालसुधार गृहमै राख्ने गरिएको छ,' शिलाकारले लोकान्तरसँग भने, 'तर, उनीहरू सुधार गृहमै वयस्क भएका हुन् ।

वयस्क र बालबालिका दुवै एकै ठाउँमा हुँदा वयस्कले बालबालिकालाई धम्क्याउने, कुटपिट गर्ने, भनेको काम गर्न लगाउनेजस्ता समस्या देखिएको उनले बताए ।

उक्त बालसुधार गृहमा सबैभन्दा बढी बलात्कारसम्बन्धी मुद्दाका कैदी छन् । त्यसपछि लागुऔषध सेवन, कर्तव्य ज्यानसहित अन्य मुद्दाका कैदीहरू पनि राखिएका छन् ।

लागुऔषध सेवन गर्ने कतिपय कैदीबन्दीलाई तिनका आमाबुवाले नै खानेकुरामा लागुऔषध मिसावट गरेर दिने गरेको समेत पाइएको उनले खुलाए ।

'बालबालिकालाई खानेकुरामा अभिभावकले नै लागुऔषध सेवन मिसाएर दिने गरेका छन्,' उनले लोकान्तरसँग भने, 'मैले आफ्नो आँखाले नै त्यो देखेको छु । चिउरा, दहीलगायतमा धूलोपदार्थ मिसाएर दिएको पाइएको छ ।

बालसुधार गृहको व्यवस्थापनमा कुल ६ जना जनशक्तिले मात्र काम गरिरहेकाले व्यवस्थापकीय काममा समेत समस्या भएको उनले खुलाए ।

सादा पोशाकमा कुल २४ जना सुरक्षाकर्मी त्यहाँ खटिएका छन्, जसमध्ये कम्तीमा पनि दुईजना सुरक्षाकर्मीहरू बिदामै बसेका हुन्छन् । आठ/आठ घण्टाको तीन शिफ्टमा सुरक्षाकर्मीले काम गरिरहेको उनले बताए ।

****

बालसुधार गृह हेटौंडामा अहिले कुल ७१ जना कैदी रहेकोमा ३६ जना १८ वर्षभन्दा माथिका छन् । उक्त बालसुधार गृहका वार्डेन श्रवणकुमार पुडासैनीका अनुसार सुधार गृहमा १३ वर्षका बालक देखि ३२ वर्षका वयस्क पनि छन् । जसमध्ये २० देखि २२ वर्षसम्मका मात्रै २० जना रहेको उनले खुलाए । सबैभन्दा बढी ४७ जना जबरजस्ती करणीका, ९ जना लागुऔषधका र २/३ जना अन्य मुद्दाका थुनुवा तथा कैदी छन् ।

'बालक र वयस्क एकै कोठामा राख्दा वयस्कले साना बालकमाथि थिचोमिचो गर्ने, लफडा गर्ने समस्या भइरहन्छ,' उनले लोकान्तरसँग भने, 'वयस्कलाई अलग्गै राख्ने व्यवस्था हुनुपर्छ । अनि मात्र बालसुधार गृह वास्तवमा बालसुधार गृह हुन सक्छ ।'

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उक्त बालसुधार गृहको क्षमता ७० जना उल्लेख गरेको भएपनि बढीमा ३५ जना मात्र राख्न सक्ने क्षमता रहेको पुडासैनीले बताए ।

'कुल ३५ वटा मात्र बेड छन् । बाँकी भुइँमा म्याट्रेसमा सुत्छन्,' उनले थपे, 'थुनेर मात्र राख्ने हो भने ७० मात्र होइन, १ सयजना पनि राख्न सकिन्छ ।'

महिला विकासको भवनमा बालसुधार गृह छ । त्यो पनि जस्ताले छाएको भवन । एउटा ठूलो हल छ, त्यसमा २४/२५ जना सुत्छन्, बाँकी तीनवटा कोठामा १२ देखि १५ जनासम्म सुत्ने गरेको उनले बताए ।

'प्रशासनका ६ जना कर्मचारी, आठजना सुरक्षाकर्मी र ७१ जना थुनुवा तथा कैदीबन्दी सानो भवनमा बस्नुपर्दा एकदमै अप्ठ्यारो छ,' पुडासैनीले थपे,' सबैभन्दा ठूलो समस्या शौचालयकै छ । ७१ जना थुनुवा कैदीका लागि जम्मा दुईवटा मात्र शौचालय छ ।'

उनले थपे, 'न खेल मैदान छ । न अन्य कुनै सुविधा ।' थुनुवा कैदीको लागि पढ्नका लागि कुनै सुविधा समेत नरहेको उनले खुलाए ।

'कोही-कोहीले सेल्फ स्टडी गरेका छन् भने पढ्न पाए । तर, छुट्टै सामुदायिक विद्यालयको व्यवस्था भने छैन,' उनले थपे,' सेल्फ स्टडी गर्नेलाई कक्षा आठ, एसईई, ११ र १२ कक्षको जाँच दिने व्यवस्था भने मिलाइएको छ ।'

केही वर्ष अघि सम्म बालबालिका भेट्न आउने बहानामा अभिभावकले खानेकुरामा लागुऔषध लुकाएर दिने समस्या रहेको भएपनि अहिले भने त्यसमा सुधार गरिएको उनले दाबी गरे ।

****

बालसुधार गृह वीरगञ्जमा ६० जनाको क्षमता रहेकोमा अहिले ११७ जना थुनुवा कैदीबन्दी छन् । उक्त सुधार गृहका कर्मचारी टीकाकृष्ण काफ्लेका अनुसार ७० प्रतिशत थुनुवा कैदीहरू जबर्जस्तीकरणीकै छन् । ११७ कैदीमध्ये ६० जना १८ वर्ष उमेरभन्दा बढीका छन् । सबैभन्दा बढी २३ वर्षका ७ जना रहेको काफ्लेले बताए ।

वयस्क र कम उमेरका थुनुवा कैदीबन्दी एकै ठाउँमा हुँदा सुध्रिनुपर्ने बालबालिका पनि बिग्रिने गरेको उनले बताए ।

'हाम्रो सामुन्नेमा तिनीहरूले बदमासी गर्दैनन् । तर, हामी नभएको बेलामा ठूलाले सानालाई पेल्ने, धम्क्याउने, भनेको काम गर्न लगाउने गरेका छन्,' काफ्लेले लोकान्तरसँग भने, 'त्यो सबै नियन्त्रण गर्ने काम सुरक्षाकर्मीको हो । तर, सुरक्षाकर्मीले पनि बालबालिका भएका कारण हातपात गर्न पाउँदैनन् । कडाइ गर्न पाउँदैनन् । त्यसैको फाइदा वयस्कहरूले उठाउने गरेका छन् ।'

१ कठ्ठा १८ धुर जग्गामा बनेको भवनमा सञ्चालित उक्त बालसुधार गृहमा जम्मा १२ वटा कोठा छन् । आवश्यकताअनुसार एउटा कोठामा १२ देखि २१ जनासम्म राख्ने गरिएको उनले बताए । पढ्नका लागि विशेष कुनै सुविधा छैन ।

'स्वअध्ययन गर्नेहरूलाई जाँच दिलाउने व्यवस्था मिलाइएको छ । एउटा लाइब्रेरी पनि छ, तर छुट्टै अन्य कुनै सुविधा छैन,' काफ्लेले लोकान्तरसँग भने, 'खेलकुदका लागि पनि छुट्टै मैदान छैन ।'

बालसुधार गृहमा रहेका बालबालिकासम्म लागुऔषध पुग्ने गरेको उनले पनि स्वीकार गरे ।

'हो, थुनुवा कैदीबन्दीमध्ये केहीले भित्र पनि लागुऔषध सेवन गर्ने गरेको पाएका छौं,' उनले थपे, 'बुझ्दै जाँदा कतिपय अभिभावकले पनि भेट्ने बहानामा त्यस्ता औषधि दिने गरेको पाइएको छ । कतिपयले भने प्रहरीसँगकै मिलेमतोमा पनि पाउने गरेका छन् ।'

फोन एक्सेसका कारण बालसुधार गृहमा रहेकाहरूमध्ये केहीले बाहिर सेटिङ गरेर प्रहरीको मिलेमतोमा पनि लागुऔषध भित्र्याउने गरेको उनले बताए । 'त्यो सबै कुराको निगरानी गर्ने जिम्मेवारी सुरक्षाकर्मीको हो । तर, कतिपयले सुरक्षाकर्मीलाई नै मिलाएर पनि लागुऔषध ल्याउने गरेको कुरा सुन्नमा आएको छ ।'

****

बालसुधार गृह विराटनगरमा अहिले कुल २४३ जना थुनुवा कैदी बन्दी रहेकोमा १२१ जना १८ वर्षभन्दा माथिका छन् । बालसुधार गृहका कर्मचारी मिलन चौहानका अनुसार ३० वर्षका एकजना र २९ वर्षका १ जनासहित बढीजसो २० र २१ वर्ष उमेरका छन् । थुनुवा कैदीमध्ये ६५ देखि ७० प्रतिशत जबर्जस्तीकरणी मुद्दाको रहेको उनले बताए ।

५० जना क्षमता रहेको उक्त सुधार गृहमा २४३ जना हुँदा ओभरक्राउडेड भएर व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको उनले गुनासो गरे ।

'बढी उमेर पुगेका वयस्कलाई समेत १४ देखि १८ वर्ष उमेर भएकाहरूसँगै राख्दा ठूलाले सानालाई दमन गर्ने, शोषण गर्ने गरेका छन्,' चौहानले थपे, 'हामीले सम्झाई, बुझाई गर्ने तथा समस्या आउँदा समाधान गर्ने त गरेका छौं । तर, विद्रोह हुने हो कि भन्ने डर पनि हुन्छ ।'

उक्त सुधार गृहमा पनि लागुऔषध थुनुवा बन्दीको पहुँचमा पुग्ने गरेको छ । एकपटक खानामा गाँजा मिसार दिन खोज्ने अभिभावकलाई सुरक्षाकर्मीले रंगेहात पक्राउ गरेको चौहानले खुलाए ।

'खानेकुरामा लुकाएर गाँजा दिन लागेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेर अभिभावकमाथि लागुऔषधको मुद्दा चलाइसकेको छ,' चौहानले लोकान्तरसँग भने ।

****

बाँकेको जयन्दुस्थित बालसुधार गृहमा अहिले कुल २६२ जना थुनुवा कैदी रहेकोमा १ सयभन्दा बढी १८ वर्षमाथिका छन् । बालसुधार गृहकी कर्मचारी विमला काउचा मगर पनि सबैभन्दा बढी २४ र २५ वर्षका ५० भन्दा बढी थुनुवा कैदी छन् । बस्न, पढ्न, खेल्न बढी समस्या भएको उनले बताइन् ।

त्यहाँ अभिभावकको नाममा साथीभाइले लागुऔषध पुर्‍याउने गरेको उनले खुलाइन् । 'पहिले–पहिले नक्कली अभिभावक बनेर साथीभाई भेट्न आउँदा लागुऔषध दिने गरेको कुरा व्यापक नै थियो,' उनले थपिन्, 'तर, अहिले हामीले त्यसलाई नियन्त्रण गर्न धेरै नै प्रयास गरिरहेका छौं ।'

****

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार केही महिना अघिसम्म देशभरका ९ वटा बालसुधार गृहमा रहेका कुल ८३५ जनामध्ये ६३० जना १८ वर्षभन्दा माथिका छन् । भक्तपुरमा २०४ जना, विराटनगरमा १२१ जना, पोखरामा ४० जना, बाँकेमा ९० जना, वीरगन्जमा ५८ जना, हेटौडामा ३६ जना, डोटीमा २७ जना, बाँकेको नौवस्तामा १२१ जना थुनुवा कैदीबन्दी १८ वर्षभन्दा बढी उमेरका छन् ।

माथि उल्लेख गरिएजस्तै सबै बालसुधार गृहमा वयस्क तथा कम उमेरका बालबालिका एकसाथ हुँदा वयस्कहरूले कम उमेरका बालबालिकालाई शोषण तथा दमन गर्ने गरेको पाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाकी महिला विकास अधिकृत कमला दाहालले पनि बालसुधार गृहमा रहेका वयस्कहरूले सानालाई शोषण गरेको कुरा सत्य रहेको स्वीकार गरिन् । त्यसबाहेक सुधार गृहमै लागुऔषध पुग्ने गरेको कुरामा समेत सत्यता रहेको उनले बताइन् ।

'बालसुधार गृहमा जनशक्तिको अभाव छ । सरोकारवालाबीच समन्वयको पनि अभाव छ,' दाहालले भनिन्, 'क्षमताभन्दा बढी बालबालिका राखिएको छ । उमेर समूहअनुसार समूहीकरण तथा व्यवस्थापन गर्न सकिएको छैन ।'

सुधार गृहभित्र जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिका कारण भित्र छुट्टाछुट्टै समूह बनाउने र समूह–समूहबीच विवाद र झैझगडा हुने गरेको देखिएको उनले बताइन् ।

'त्यसबाहेक अभिभावकले बालबालिकाको सुधारभन्दा उक्साउने र खानेकुराभित्र लागुऔषध सप्लाइ गर्ने डरलाग्दो प्रवृत्ति बढेको छ,' उनले थपिन्, 'सुधार गृहभित्रै व्यस्त रहने गरी तालिम तथा अन्य सीपमूलक क्रियाकलाप सञ्चालन गर्न नसक्दा पनि समस्या भएको हो ।'

१८ वर्षभन्दा बढी उमेर समूहलाई छुट्टै राख्न ऐन संशोधनको गृहकार्य

वयस्क भएपनि बालसुधार गृहमा बालबालिकासँगै राख्दा समस्या भएकाले त्यसको समाधानका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ऐन नै संशोधन गर्न लागेको छ ।

१८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाले कुनै कसूरजन्य अपराध गरेको कसूरमा अदालतले कैद सजाय भुक्तान वा मुद्दाको पुर्पक्ष गर्न थुनामा पठाउनु पर्दा बालसुधार गृहमा पठाउने गर्छ । तर, थुनाको क्रममा वा कैद सजाय भुक्तानको क्रममा १८ वर्ष नाघिसकेको अवस्थामा अन्य कारागारमा पठाउने भन्ने विषयमा बाल संरक्षण ऐन,२०७५ मा प्रस्टसँग उल्लेख छैन । सोही कारण ३२/३३ वर्ष पुगिसकेका वयस्कहरू पनि बालसुधार गृहमै छन् ।

१८ वर्ष उमेर पुगेकालाई सामान्य कानूनअनुसार कारागार पठाउने कुरा बाल संरक्षण ऐनमा समावेश गरेर संशोधन गर्न मन्त्रालयले मस्यौदा तयार गरेको दाहालले जानकारी दिइन् ।

१८ वर्ष पूरा भएकाहरूलाई बाँकेका दुई बालसुधार गृहमा राख्ने निर्णय मन्त्रालयले यसअघि नै गरिसकेको भएपनि ठूलो समूह एकसाथ हुँदा थप सुरक्षा चुनौती हुनसक्ने भएकाले तत्काल कार्यान्वयनमा लान नसकिएको उनले खुलाइन् ।

'त्यसबाहेक बालसुधार गृहभित्र हुनसक्ने झैझगडा लगायतका विषयलाई ध्यानमा राखी बालसुधार गृहभित्र पोशाकसहितका सुरक्षाकर्मी परिचालन गर्न सकिने भन्ने व्यवस्थासहित ऐन संशोधनको तयारी गरिएको छ,' दाहालले लोकान्तरसँग भनिन् ।

अहिले बालसुधार गृहभित्र पोशाकसहितका सुरक्षाकर्मी परिचालन नगरी सादा पोशाकमा परिचालन गरिएको छ ।

लागुऔषधको कानूनी विवादमा परेका बालबालिकालाई बालसुधार गृह हेटौंडामा मात्र राख्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको समेत उनले खुलाइन् । 'त्यसैगरी विद्यालयमा अध्ययन गर्ने र गरिरहेका बालबालिकालाई विद्यालय भएका बालसुधार गृहमा मात्र राख्ने तयारी समेत मन्त्रालयले गरिरहेको छ,' उनले भनिन् ।

अहिले मोरङ, कास्की, भक्तपुर र बाँकेको जयन्दुमा १० कक्षासम्म विद्यालय सञ्चालन हुनुका साथै कक्षा ११, १२ र कलेज तहका विद्यार्थीलाई परीक्षा दिलाउने व्यवस्था मिलाइएको उनले बताइन् ।     

salt training

कमेन्ट गर्नुहोस्