नेपाल भ्रमणमा रहेको भारतीय नेशनल कयाडेट कर्पस् (एनसीसी)को भ्रमण दलले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटघाट गरेको छ।
राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन आएको भारतीय सेनाका विङ कमान्डर पीआर पोनाप्पाको नेतृत्वको टोलीले आइतबार प्रधानसेनापतिसँग भेट गरेको हो ।
१८ सदस्यीय भारतीय एनसीसी टोली यही कार्तिक ५ गते नेपाल आएको थियो ।
विक्रम संवत् २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्रछात्राहरूले विक्रम संवत् २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित वाईईपी मा सहभागिता जनाउँदै आई रहेका छन् ।
यस कार्यक्रमअन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन्।
नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट कर्पस्का टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्रछात्राहरूको समेत सहभागिता रहेको छ ।
जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत वाईईपीमा सहभागी नेपाल तथा भारतका एनसीसी छात्रछात्राहरूको उपस्थिति थियो ।