०५ असार २०८३, शुक्रबार

लुकिछिपी पड्काउने पटकाका कारण काठमाडौंमा वायु प्रदूषण बढ्यो

कात्तिक १७, २०८१
काठमाडौं
लुकिछिपी पड्काउने पटकाका कारण काठमाडौंमा वायु प्रदूषण बढ्यो

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शनिबार बिहान काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५८ रहेको जनाएको छ । 

बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शनिबार बिहान काठमाडौं विश्वको सातौं प्रदूषित सहरको सूचीमा सूचिकृत रहेको छ । 

पाकिस्तानको लाहौर पहिलो प्रदूषित शहरको रूपमा रहेको छ । दोस्रोमा भारतको कलकत्ता र तेस्रोमा भारतकै दिल्ली रहेको छ । 

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण बढेको बताउँछन् । 

उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ  । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । 

१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् । 

वातावरणविद् भूषण तुलाधारले पटक जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिए ।
 
वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरू उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौं भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए । 'दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,' उनले भने, 'अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ ।'

पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । 

उनीहरूले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा  यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन् । 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ ।


 

salt training

कमेन्ट गर्नुहोस्