११ साउन २०८३, सोमबार

बालगोपालेश्वरमा भक्तजनद्वारा पूजा आराधना

कात्तिक १८, २०८१
काठमाडौं
बालगोपालेश्वरमा भक्तजनद्वारा पूजा आराधना

प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौं भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन् ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् । 

आज पनि दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजेअघिदेखि नै मन्दिर प्रवेश गरेका थिए । मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए ।

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रूपमा काम गरेकी सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसी बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउँछिन् । विगत वर्षमा भन्दा यस पटक भाइटीकाका अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उनले बताइन् ।

भाइटीकाका दिनमा मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू भाइटीका लगाउने गर्छन् । सामुदायिक प्रहरी पुरानो बसपार्ककै कार्य समिति सदस्य निशा अलि खानले विगत वर्षमा भन्दा यसपटक मन्दिर आउने भक्तजन बढेको बताइन् । मन्दिर आउने धेरैजसो भक्तजन खाली निधार आई यहाँ आएर टीका लगाई फर्केका छन् । 

मन्दिरमा काम गर्दै आएका रमेश कपाली भक्तजनको सङ्ख्या धेरै भएकाले मन्दिरमा दिनभर नै घुइँचो लागेको बताउँछन् । केही महिलाले मन्दिर परिसरमा बसेर दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगाएर प्रसाद दिएका थिए ।  मन्दिर क्षेत्रमा दिनभर सामुदायिक प्रहरी कार्यसमितिका सदस्यहरूले स्वयंसेवीका रुपमा काम गर्नुका साथै महानगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा दिएको थियो । 

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन् ।

यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

'विक्रम संवत् २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको घुइँचो लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजन आउँछन्,' उनले भने । ​

विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्