
चाडपर्वका बेला होस् वा घरमा पाहुना आउँदा, मीठो परिकारका रूपमा माछामासु पकाएर खाने/खुवाउने नेपाली संस्कार छ । दशैं, तिहार, छठ र माघीजस्ता प्रमुख चाडपर्वमा पनि मासुलाई नै प्राथमिकता दिइन्छ ।
तर, दाङको राजपुर गाउँपालिकास्थित प्रतापपुर यस्तो गाउँ हो, जहाँ माछामासु बर्जित छ । प्रतापपुरमा झण्डै २ शताब्दी (२०० वर्ष) देखि सबै बासिन्दा शाकाहारी रहँदै आएका छन् । गाउँका झण्डै ५ दर्जन घरका ४५० सदस्य अहिले शाकाहारी छन् ।
९० प्रतिशत यादव समुदायको बसोबास रहेको यो गाउँमा कसैको भान्छामा पनि माछामासु पाक्दैन । हुलाकी राजमार्गसँग जोडिएको यो गाउँमा माछामासुसँगै मदिरा समेत निषेध छ ।
‘यो गाउँका कसैले पनि कहिल्यै माछामासु खाँदैनन्,’ स्थानीय महेशकुमार यादव भन्छन्, ‘हाम्रो पुर्खादेखि नै माछामासु नखाने मात्र होइन, माछामासुका लागि प्रयोग गरिने कुखुरा, हाँस, बाख्रा, सुगुर, बंगुर पालन पनि गरिँदैन,’ एक स्थानीयले भने, ‘विवाह भोजदेखि घरमा पाहुनालाई पनि शाकाहारी परिकार मात्र खुवाउँछौं । अहिले पढ्न र रोजगारीका लागि टाढा–टाढा पुगेका युवाहरूले बाहिर खाने गरेको भए, त्यो जिम्मा लिने कुरा भएन, घरमा कसैले पनि मासु पकाउँदैनन्, खाँदैनन् पनि ।’

स्थानीयको प्रमुख पेशा कृषि र पशुपालन हो । मासुको सट्टा दुग्धजन्य पदार्थका लागि गाईभैँसी पालिने गरेको छ । पौष्टिक तत्व नपुरेर डाक्टरले माछामासु र अण्डा खान आग्रह गर्दा पनि प्रतापपुरले अस्वीकार गर्दै आएको छ ।
पशुपक्षी बध गर्नु, प्राणी हत्या गर्नुलाई यो गाउँले पाप ठान्छ । यस गाउँका हिन्दू धर्मावलम्बी बासिन्दा दैनिक पूजापाठ गर्छन् । सात्विक भोजन रोजेर आनन्दको जीवन व्यतीत गर्न पुरानो पुस्ताले सिकाएको जीवनशैलीलाई युवा पुस्ताले पनि अनुसरण गर्दै आएको स्थानीय बताउँछन् । पूजाआजा र बैदिक कार्यमा फूल र नरिवल चढाउँछन् ।
‘प्रतापपुरमा मासु र मादक पदार्थ चलाउँदैनौं र चलाएको ठाँउमा गएर खाँदैनौं पनि,’ वडाध्यक्ष रामप्रसाद अहिर भन्छन्, ‘यस्तो संस्कार यहाँको नयाँ होइन, हाम्रा बाजेबराजुदेखि चलिआएको हो । अहिलेको नयाँ पुस्ताले पनि यसलाई अनुशरण गर्दै आएको छ ।’

गाउँपालिकाका उपाध्यक्ष धनापतिदेवी यादवले प्रतापपुर मात्र होइन, पालिकाका धेरै यादव परिवार शाकाहारी रहेको बताइन् ।
‘मलाई पनि माछामासुको टेस्ट थाहा छैन,’ धनापतिदेवी भन्छिन्, ‘यो हाम्रो जिजुबाजेदेखिको चलन हो । मासु खानैपर्छ भन्ने पनि छैन । माछामासुमा पाइने पौष्टिक तत्व अन्य चिजबाट पनि पाउन सकिन्छ ।’
उनले थपिन्, ‘मासुका लागि प्रयोग गरिने बाख्रा, कुखुरा पालेर आयआर्जन गर्न त सकिने थियो, कसैले पनि पाल्न मान्दैनन् । मैले त्यसबारे जनचेतना विकासको योजना ल्याएको छु । महिलाहरू अझै पनि घरबाट बाहिर निस्किँदैनन् । केही सुधार त भएको छ, अझै सोचेजस्तो हुन सकेको छैन ।’