
तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक शुरू भएको छ ।
काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्तीसहित सिँगारिएका छन् ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
उक्त क्षेत्रमा पाँच सय ६७ छठ घाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए ।
उनले भने, 'हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौं, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।'
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।
यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ ।
कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरूको सरसफाइ गरिएको छ ।